काठमाडौं- थानकोट डिपोदेखि बसुन्धराको पेट्रोलपम्पसम्म ढुवानी गर्ने क्रममा ट्यांकर चालकले पेट्रोलमा पानी मिसाएको भेटिएको छ। शुक्रबार निगमको बागमती प्रादेशिक कार्यालय थानकोटबाट ना ४ ख ३१५६ नम्बरको ट्यांकरबाट बिक्री वितरण गरिएको २० हजार लिटर पेट्रोलमध्ये ८ हजार लिटर महालक्ष्मी फ्यूल सेन्टर, बसुन्धराले खरिद गरेको थियो।
उक्त पेट्रोल पम्पले शनिबार बिहान बिक्री वितरण गर्नुपूर्व पेट्रोलको गुणस्तर पम्पको नोजलबाट चेक जाँच गर्ने क्रममा पेट्रोलमा पानी देखापरेपछि निगमलाई जानकारी गराएको थियो। ८ हजार लिटर पेट्रोलमा ५ सय लिटरभन्दा बढी पानी मिसाइएको भेटिएको छ।
महालक्ष्मी फ्यूल सेन्टरले पेट्रोलमा पानी देखिएको सम्बन्धमा निगमको बागमती प्रादेशिक कार्यालय प्रमुखलाई जानकारी गराएपछि पम्पको बिक्री वितरणसमेत बन्द गरेको थियो। पानी मिसाइएको विषयमा बुझ्नको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारी तथा निगमका बागमती प्रादेशिक कार्यालय थानकोटका प्रमुखलगायतको टोली पम्पमा गई चेकजाँच गर्दासमेत पेट्रोलमा पानी मिसाएको भेटिएको थियो।
निगम र वाणिज्य विभागको टोलीले प्रारम्भिक रुपमा छानबिन गर्दा सम्बन्धित ट्यांकर चालक नै पानी मिसाउने कार्यमा दोषी देखिएका छन्। निगमले ती चालकलाई प्रचलित कानूनअनुसार कारवाहीको प्रकृया अघि बढाइसकेको जनाएको छ।
ट्यांकरमा अहिले सेक्युरिटी लकिङ सिस्टम लागू गरिएका कारण बीच बाटोमा चालकले ट्यांकर खोल्ने बन्द गर्न सक्ने अवस्था रहँदैन। तर उक्त ट्यांकर चालकले कसरी पानी मिसाए र थानकोटबाट बसुन्धरा पुर्याउने क्रममा त्यो कसरी सम्भव भयो भनेर थप अध्ययन भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।