काठमाडाैं- थानकोट नाका हुँदै घर जान लागेका नागरिकलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेका मजुदरलाई स्थानीय तहसँगको समन्वयमा घर पठाइएको छ। सयौं किलोमिटर हिँडेर तय गर्न तयार उनीहरू १२ घन्टा पार्कमा बसेपछि घर फर्कन पाएका हुन्।
लकडाउनका कारण हिँडेरै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिका र त्यहाँका स्वयसेवी युवा मिलेर क्याम्प बनाएर राखेको थियो। बिहान मात्र उनीहरू क्याम्पमा प्रवेश गरेका थिए। बेलुका गाडीको ढोकाबाट सिटतिर आसन पाए।
दिनभर उनीहरुलाई खाने र बस्ने व्यवस्था गर्न प्रतिनिधिसभा सांसद अञ्जना विशंखे खटिरहेकी थिइन्। स्थानीय युवाहरुले नागरिकहरुलाई त्रिभुवन पार्कमा अस्थायी सेल्टर बनाएर राख्न स्वतस्फुर्त रुपमा सहयाेग गरेका थिए।
विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण उपत्यका हुँदै हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको थियो। साँझ उनीहरूलाई बसबाट पठाइएको हो।
मजदुरहरूलाई गाडीको व्यवस्था गरिएपछि उनीहरुको मनमा खुशी झल्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।