काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १ जनाको नमूना परीक्षण भएको छ। शनिबार नयाँ संक्रमित भेटिएको छैन।
२४ घण्टामा ६ सय २ जनाको पिसिआर र २ हजार ८ सय ९९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। १९ हजार ४ सय ५४ को आरडिटीबाट र ८ हजार ६७ जनाको पिसिआरबाट कोरोनाको परीक्षण भएको मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले बताए।
शुक्रबार थप १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये दुई जना उपचारपछि निको भएर घर फर्किएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भई दोस्र्रो संक्रमित शनिबार घर फर्किएको मन्त्रालयले जनाएको छ। बाँकी २८ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ। हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना बिरामी आईसोलेसनमा छन् । मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।