काठमाडौं - कोरोना भाइरसको संक्रमणलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले कोरोना बिरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार भएको बताएकी छिन्।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनले उक्त जानकारी दिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।
कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरसबाट संक्रमित भएका अरु बिरामीको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशमा अध्ययन भइरहेको छ।
प्रसिद्धिले पनि अरु बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार रहेको बताएकी हुन्।
अहिले इटलीले संक्रमित भएर उपचारपछि निको भएकाहरु र कोरोना संक्रमण पोजेटिभ देखिए पनि उपचारै नगरी निको भएकाहरुको रगतको प्लाज्माबाट कोरोना संक्रमणविरुद्ध लड्न एन्टिबडी बनाइरहेको छ।
उनीहरुबाट बनाइएको एन्टिबडी अहिले कोरोना भाइरसबाट संक्रमित भएकाहरुमा राख्ने तयारी भइरहेको छ। यसले संक्रमितहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सघाउने उनीहरुको विश्वास छ। लामो समयदेखि चिकित्सकहरुले स्वस्थ ब्यक्तिको प्लाज्मा अन्य रोगको संक्रमितहरुको उपचारमा उपयोग गर्दै आएका थिए।
नेपालमा पनि बिरामीको संख्या थपिँदै गएमा उपचारका लागि उक्त विधि अपनाउन सक्ने विषयमा छलफल भइरहेको छ। सो अन्तर्गत प्रसिद्धिको रगतबाट प्लाज्मा निकालेर अरु बिरामीमा उपचारका लागि प्रयोग गर्न सकिन्छ।
फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।