काठमाडौं- अमेरिकाको न्यू जर्सीमा रहेको ट्रिटन सोलारले हालसम्मकै सर्वाधिक माइलेज दिने एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको सो एसयुभीले एक पटक फुल चार्ज गरेपछि ११ सह २६ किलोमिटरभन्दा बढी माइलेज दिन्छ।
ट्रिटनले बनाएको उक्त एसयुभीको नाम 'मोडल एच' राखिएको छ। यो गाडीमा २ सय केडब्लुएचको निक्कै शक्तिशाली ब्याट्री जडान गरिएको छ। यही ब्याट्रीका कारण यसले फुल चार्जमा ११ सय २६ किमि ( ७ सय माइलभन्दा बढी) माइलेज दिने दावी कम्पनीको छ। तर, २ सय केडब्लुएचको ब्याट्रीले ७ सय माइलको दूरी तय गर्ने सम्बन्धमा स्वतन्त्र विज्ञहरूले प्रश्न उठाएका छन्।
सो एसयुभीमा हरेक चक्कामा एक एकवटाका दरले ४ वटा इलेक्ट्रिक मोटर हुनेछ। यी मोटरको कूल अउटपुट १५ सय एचपी हुनेछ। कम्पनीका अनुसार यो एसयुभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.९ सेकेन्डमा तय गर्न सक्छ। विलाशी यात्रासहित यो गाडीमा धेरै नै लोड बोक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। यो एसयुभीको कूल भारबहन क्षमता ६ हजार ९ सय ८५ किलो रहेको छ।
हिजोको प्रतिबद्धता आज सावित भएको ट्रिटनका सिइओ हिमाङशु पटेलले बताए। यो परियोजनाका लागि पछिल्लो १८ महिनाको समय खर्चिएको उनको भनाइ छ।
ट्रिटन सोलार (ट्रिटन इभी युनिट)ले मोडल एचको बुकिङ ५ हजार अमेरिकी डलर डिपोजिट गरेर गर्न सकिने जनाएको छ। पहिलो १ सय वटालाई कम्पनीले फाउन्डर्स एडिसन भनेको छ। सो एडिसन बुकिङ डिपोजिट बाहेक बुकिङ गरेको ५ दिनभित्र १ लाख ३५ हजार डलर जम्मा गर्न भनिएको छ।
ट्रिटन सोलारका ब्याट्री हाल विश्व बजारमा उपलब्ध अन्य कम्पनीका ब्याट्रीको तुलनामा तौल र आकार दुवैमा आधा सानो छ। ८ सिट क्षमताको यो एसयुभीमा २ सय वर्गफिटको सामान राख्ने स्पेस उपलब्ध छ।
ह्वील वेस ३.३ मिटर रहेको यो एसयुभीको ब्याट्रीमा १० वर्ष वा १ लाख ५० हजार माइल वारेन्टी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।