काठमाडौं– सरकारले बरियताका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्त गरेको छ। मंगलबार साँझ ८ बजेपछि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा १ नम्बरमा रहेका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा पनि ब्याचमा पहिलो नम्बरमा रहेका शैलेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको हो। सर्वसम्मत रुपमा दुवै संगठनमा आइजिपी नियुक्त गरिएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन्।
आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।
नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले अहिलेकै प्रहरी नियमावली अनुसार २२ महिना संगठनको नेतृत्व सम्हाल्नेछन्। उनी २०४६ साल माघ २९ गते इन्सपेक्टर पदबाट प्रहरी सेवामा भर्ना भएका हुन्। प्रहरी नियमावलीमा ३० वर्षमा अनिवार्य अवकाशको प्रावधान छ। सो अनुसार २०७६ साल माघ २९ गतेसम्म उनी आइजिपी हुनेछन्।
सशस्त्र प्रहरीका महानिरीक्षकमा नियुक्त भएका शैलेन्द्र खनालले भने ४ वर्ष संगठन चलाउनेछन्। उनी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीमा इन्सपेक्टरबाट भर्ना भएका हुन्। उनी २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा सशस्त्रमा स्थानान्तरण भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।