काठमाडौं– भारत र पाकिस्तानबीचको राजनीतिक द्वन्द्वका कारण एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको आयोजना स्थल परिवर्तन गरिएको छ। यसअघि भारतमा हुने तय भएको एसिया कप अब संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर १३ देखि २८ सम्म हुने बताइएको छ। एसिसीले भारत र पाकिस्तानको द्वन्द्वपछि युएईमा प्रतियोगिता सारेको पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेटीले पुष्टि गरेका हुन्।
यसअघि भारतमा आयोजना हुने प्रतियोगिता नखेल्ने पाकिस्तानले अडान लिएको थियो। गत वर्ष भएको यू–१९ एसिया कप पनि भारतबाट मलेसियामा सरेको थियो। पाकिस्तानले भारतमा खेल्न अस्विकार गरेपछि एसिसी मलेसियामा प्रतियोगिता सार्न बाध्य भएको थियो। यता इमर्जिङ एसिया कपको पनि आयोजक परिवर्तन भएको छ। अब श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन्। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट चरण पार्ने १ टिम गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
छनोट प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। छनोट प्रतियोगिता सेप्टेम्बरमा भारतमा हुने तय छ। गत महिना एकदिवसीय मान्यता पाएको नेपालले अब खेल्ने प्रतियोगिता एसिया कप छनोट हो। त्यसअघि नेपालले कुनै प्रतियोगिता खेल्ने तय छैन। छनोटको युएई विरुद्धको खेल नेपालका लागि पहिलो एकदिवसीय खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।