काठमाडौं- उखु कृषकको रकम भुक्तान नगर्ने चिनी उद्योगीप्रति सरकार आक्रामक बनेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उखु किसानलाई तत्काल भुक्तान गर्नुपर्ने रकम दिन अटेर गर्ने चिनी उद्योगीलाई ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएका छन्। चिनी उद्योगीहरुले गत चैत २२ बाट रकम भुक्तानी गर्ने सहमति जनाए पनि केही ठूला उद्योगीले रकम दिने प्रक्रिया अघि बढाएका छैनन्।
उद्योग मन्त्रालयले उखु किसानको रकम भुक्तान प्रक्रिया अघि नबढाउने चिनी उद्योगीलाई तत्काल गिरफ्तार गर्दै ठगी मुद्दा अघि बढाउने तयारी थालेको हो। उद्योगमन्त्री यादवले गृहमन्त्री रामबहादुर थापा बादललाई पत्र लेख्दै आवश्यक रकम भुक्तान नगर्ने ४ उद्योगीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिसकेका छन्। सोही अनुसार गृह मन्त्रालयले इस्टर्न सुगर मिल्सका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई सोमबार पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै इस्टर्न सुगर मिल्सले प्रहरीको समन्वयमा स्थानीय कृषकलाई मंगलबार बिहान १० बजेबाट रकम भुक्तान सुरु गरेको छ। गत चैत १० मा उद्योगमन्त्री यादवको पहलमा कृषिमन्त्री चक्रपाणि खनाल, चिनी उद्योगी र उखु किसानबीच सर्वपक्षीय छलफल भएको थियो। सो छलफलमा चिनी उद्योगीले चैत २२ बाट उखु किसानलाई रकम भुक्तान गर्ने सहमति जनाएका थिए। तर, आफैंले तोकेको समयभित्र भुक्तान प्रक्रिया अघि नबढाएपछि उद्योगमन्त्री यादवले ठगी मुद्दामा गिरफ्तार गर्न भन्दै गृह मन्त्रालायलाई पत्र लेखेका हुन्।




उखु किसानलाई रकम भुक्तान नगर्नेमा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रीका राकेश अग्रवाल र ज्ञानप्रसाद भट्टराई छन्। भट्टराई पूर्व सिडिओ समेत हुन्। त्यस्तै, इन्दिरा सुगर मिल्स नवलपरासीका राकेश अग्रवाल तथा इस्टर्न सुगर मिल्स र श्रीराम सुगर मिल्सका अनुज अग्रवालले समेत रकम भुक्तान प्रक्रिया अघि बढाएका छैनन्। रकम भुक्तान सुरु गरेको इनोशंकर चिनी उद्योगले १ अर्ब ३० करोड रकम किसानलाई तिर्न बाँकी छ। जसको सञ्चालक राजेश केडिया हुन्। यस्तै, दुई पटक सांसद भएका राजकुमार अग्रवालको केमिकल्स रिलायन्सले समेत मोटो रकम भुक्तान गर्न बाँकी रहेको कृषकहरु बताउँछन्। अग्रवालले पुस २६ देखि माघ १५ सम्मको रकम भुक्तान गरे पनि माघ १५ पछिको झन्डै एक अर्ब रुपैयाँ रकम भुक्तान गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।