काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोज कुमार वि.क.सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विकसहितले एउटा सामानलाई अर्कै घोषणा गरी राजस्वको रकम भ्रष्टाचार गरेको भन्दै ५५ लाख १० हजार बराबरको बिगो र कैद दावी गर्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भन्सार जाँचपास भएका मालवस्तु ट्र्याक सुट, हाफ भेष्ट, ज्याकेट, फ्ल्याट सोल जुत्ता, स्पोर्टस जुत्ता र पी-क्यापजस्ता मालवस्तुको स्पेसिफिकेसन नलिई, प्रायः सबै ब्राण्डेड कम्पनीको लोगो (चिन्ह) स्पष्ट देखिने अवस्थामा चेकजाँच नै नगरी पैठारीकर्ता तथा भन्सार एजेन्टसँगको मिलेमतोमा सामान पठाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
६५ लाख ४० हजार राजस्व रकम लिनुपर्नेमा न्यून मूल्यांन गरी सोही आधारमा १० लाख २९ हजार ४ सय १० रुपैयाँमात्र भन्सार महसुल र भ्याट लिएको देखाई भन्सार जाँचपास गरेको देखिन आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले सागर एण्ड साधना बिजनेश प्रा.लि. का संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डे, भन्सार बिन्दुमा मालवस्तुको भौतिक परीक्षणका लागि खटिएका भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले एक आपसमा मिलेमतो गरी बदनियतपूर्वक भन्सार प्रज्ञानपत्रमा मालवस्तुको गलत घोषणा गरेको भन्दै उनीहरुलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यस्तै मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडाले पैठारीकर्तासँग बदनियतपूर्वक मिलेमतो गरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्राण्डको उत्पति भएको देश नै फरक परेको मालवस्तुहरुलाई भौतिक परीक्षणको क्रममा अनदेखा गरी जाँचपास गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले मनोज कुमार वि.क. र सनद खतिवडाको हकमा नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकमबाट राजस्व चुहावट भएको बिगो ५५ लाख १० हजार ५ सय ९६ बिगो माग गरेको छ।
सागर एण्ड साधना बिजनेश प्रा.लि. काठमाडौंका संचालकहरु गंगा बहादुर घिमिरे र लिला बहादुर घिमिरेसँग तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेले भन्सार ऐन, २०६४ एवं आर्थिक ऐन, २०७५ विपरीत पैठारी हुने मालवस्तुको यथार्थ विवरण नखुलाई ल्याएको र भन्सार कार्यालय मेचीका भौतिक परीक्षण गरी जाँचपास गर्ने कार्यमा संलग्न भन्सार अधिकृत मनोज कुमार वि.क. र जाँचकी ना.सु. सनद खतिवडासँग बदनियतपूर्वक मिलेमतो गरी मालवस्तु पैठारी गरेबापत उनीहरुलाई पनि सोही बराबर बिगो र कैद सजाय अख्तियारले माग गरेको छ। उनीहरुलाई बिगोको दोब्बर जरिवाना गर्न पनि अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।