काठमाडौं- फर्केर हेर्दा २०७६ साल नेपाली खेलकुदका लागि महत्वपूर्ण रह्यो। नेपालमा नै साग खेलकुदको आयोजनादेखि ठूला प्रतियोगितामा सहभागिता। गएको वर्ष खेलकुद केवल अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनेमा मात्रै सीमित भएन राष्ट्रलाई गर्विलो इतिहास पनि दिलायो।
दिन, महिना र वर्ष आखिर फेरिएर जाने न हो। तर यही छोडिएर गएका दिन, महिना र वर्षहरुमा हजारौं सम्झनायोग्य क्षणहरु बनेका हुन्छन्। उति नै विर्सन लायक पनि। २०७६ साललाई फर्केर हेर्दा नेपाली खेलकुदमा स्वर्णीम वर्ष मान्न सकिन्छ। यसका कारण छन्। र केही विर्सनलायक क्षणहरु पनि छँदै छन्।
२०७६ मा मुख्य उपलब्धी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालमा भव्यतापूर्वक सम्पन्न हुनु नै रह्यो।
सागमा नेपालले ५१ स्वर्णसहित उल्लेख्य प्रदर्शन गर्नु, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु, नेपाल क्रिकेट संघ (क्यान) फुकुवा हुनु, नयाँ विश्व रेकर्ड नेपाली खेलाडीको नाममा रहनु, नयाँ खेलाडीको आगमन र केही भौतिक संरचना निर्माण हुनु २०७६ सालमा नेपाली खेलकुदले पाएका मुख्य उपलब्धि हुन्।
५१ स्वर्णको कीर्तिमान
सन् १९८४ मा नेपालबाटै सुरुवात भएको साग खेलकुद प्रतियोगिता १९९९ पछि अर्थात २० वर्ष पछि आफ्नै जन्मस्थान फर्कियो।
सन् २०१६ मा भारतले ५ वर्ष लगाएर १२औं साग खेलकुद सकाएपछि नेपालले सन् २०१८ मा आयोजना गर्ने गरी जिम्मा लियो। तर भूकम्पले ध्वस्त भएको भौतिक संरचना निर्माण भइनसक्दा पटक पटक सारिएर २०७६ को मंसिरसम्म पुग्यो।
पहिलोपटक काठमाडौंबाहिर पनि पोखरा र जनकपुरमा केही खेलहरु भए। प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्रकार सम्मेलन गर्दै ५० स्वर्ण पदक जित्ने दाबी गरेको थियो। यो दाबीलाई सुरुमा धेरैले उडाए।
उद्घाटन हुनेदिनसम्म पनि अस्तब्यस्त बनेको दशरथ रंगशालाले निकै चिन्तित बनाएको थियो। त्यस्तै, हिटिङ स्वीमिङ पुल र पोखरा रंगशाला निर्माणले साग आयोजनाकै लागि चुनौती नदिएको पनि होइन। जसोतसो प्रतियोगिता सकिँदा पनि निर्माण सकिएको थिएन।
तर पनि खेलाडीले देखाएको जोश र समझदारीले नेपालले तेक्वान्दोमा १२, करातेमा १०, उसुमा ५, साइक्लिङमा ४, पौडीमा ४, एथ्लेटिक्समा ३, बक्सिङमा ३, जुडोमा २, गल्फमा २, ट्रायथलनमा २, भारोत्तोलनमा २, पुरुष फुटबलमा १ र कुस्तीमा १ स्वर्ण पदक जित्न सफल भयो।
१९९९ मा नेपालले दोस्रो पटक साग खेलकुदको आयोजना गर्दा ३१ वटा स्वर्ण पदक जितेको थियो। तर १२औं संस्करणको साग खेलकुदमा मात्र ३ वटा स्वर्ण पदक जित्न सफल भएको थियो। त्यसकारण पनि ५१ स्वर्ण जित्नु नेपालको लागि ऐतिहासिक बन्यो।
१३औं साग खेलकुदमा सबैको नजरमा परिन् जलपरी गौरिका सिंह। उनले यस्तो कीर्तिमान कायम राखिन्, जुन तोड्न मुस्किल छ। एकै सागमा ४ स्वर्ण पदक जित्ने कीर्तिमान कायम गरिन्। हुन त, पौडीमा अहिलेसम्म व्यक्तिगत स्पर्धामा स्वर्ण पदक कुनै खेलाडीले जित्न सकेका थिएनन्। गौरिकाले २ रजत र ३ कास्य पनि जित्न सफल भएकी थिइन्।
त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २-२ स्वर्ण पदक जित्दै कीर्तिमान बनाए। कराते, तेक्वान्दो र गल्फमा कुनै पनि खेलाडीले यसअघि दोहोरो स्वर्ण पदक जितेका थिएनन्।
त्यस्तै सागको एथ्लेटिक्समा स्वर्ण जित्ने सन्तोषी श्रेष्ठ पहिलो महिला खेलाडी बनिन्। अहिलेसम्म नेपाली महिला खेलाडीले एथ्लेक्सिमा स्वर्ण जित्न सकेका थिएनन्। सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जित्न सफल भएकी थिइन्।
यस्तै, कुस्तीमा सागमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने खेलाडी संगीता धामी बनिन्। नेपालले अहिलेसम्म कुस्तीमा स्वर्ण जित्न सकेको थिएन।
राष्ट्रिय उपलब्धी र प्रधानमन्त्रीको घोषणा
साग खेलकुदको आयोजना र ऐतिहासिक ५१ स्वर्ण पदकलाई सरकारले आफ्नो प्रमुख उपलब्धीको रुपमा ब्याख्या गर्न कुनै ठाउँमा चुकेन। भलै साग खेलकुदको मुखैमा खेल छाडेर कतार गएकी कीर्तिमानी धाविका तुलसा खत्री जस्ता खेलाडीका बारेमा भने सरकार मौन नै रह्यो।
सागमा पदक जित्ने खेलाडीहरुलाई प्रधानमन्त्रीले ठूलो भोजको आयोजना गरी पुरस्कार रकमको घोषणा पनि गरे। जसले गर्दा नेपाली खेलकुदमा लगानि र आवश्यक तयारीमा भन्दा पनि चर्चामा रमाउने परिपाटीको विकास गएको वर्ष पनि भयो।
प्रधानमन्त्रीले विजेता खेलाडीहरुलाई बालुवाटार बोलाएर स्वर्ण, रजत र कास्यका आधारमा खेलाडीलाई विभाजन गरिदिँदा खेलाडीहरु नै असन्तुष्ट देखिएका पनि थिए।
प्रधानमन्त्रीले व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेतालाई जनही नौ लाख, रजत विजेतालाई जनही ६ लाख र कास्य पदक विजेतालाई जनही तीन लाख दिने घोषणा गरेका थिए। यस्तै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने घोषणा गरेका थिए। प्रधानमन्त्रीले घोषणा गरेको अहिलेसम्मकै ठूलो खेल पुरस्कार खेलाडीले पाएका छैनन् प्रक्रियामा नै छ।
फुटबलमा औषत
यो २०७६ साल नेपाली फुटबलको कुरा गर्दा औसत नै मान्न सकिन्छ। साग खेलकुदमा स्वर्ण पदक दिलाउनेदेखि विश्वकपको दोस्रो चरणमा चाइनिज ताइपेइलाई पराजित गर्नेसम्मको उपलब्धि नेपाली फुटबल टिमले हासिल गरेको छ। तर हारको कथा पनि उस्तै छ।
भदौ १९ गते विश्वकपको छनोटको दोस्रो चरणमा नेपालले पहिलो खेल कुवेतसँग खेलेको थियो। तर ७-० गोलअन्तरले पराजित हुन पुग्यो। भदौ २४ गते चाइनिज ताइपेईसँग उसैको भूमिमा नेपालले २-० गोलले स्तब्ध बनायो। नेपालको जितमा दुबै गोल अञ्जन विष्टले गरेका थिए। तर त्यसपछिका खेलमा भने अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलअन्तरले पराजित हुन पुग्यो।
दशरथ रंगशालाको निर्माण नसकिँदा त्यसपछि भुटानमा भएको आफ्नो होम खेलमा कुवेतसँग नेपाल १-० गोलले हार्न पुग्यो। कुवेतसँग खेल्न जानुअघि अञ्जन विष्ट, विमल घर्तिमगर, दिनेश राजवंशी र सन्तोष तामाङ ‘डिस्को काण्ड’ मा मुछिनु नेपाली फुटबलका लागि यो वर्ष नराम्रो घटना बन्यो।
१३औं साग खेलकुदमा भने नेपाली फुटबल टिमले फेरि पनि स्वर्ण पदक जित्दै आफ्नो शाखलाई कायमै राखेको थियो। २०१६ मा भारतमा भएको १२औं साग खेलकुदमा पनि पुरुष फुटबलले स्वर्ण पदक जितेको थियो।
दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गर्न सफल भयो। त्यसो त भुटान पनि कमजोर टिम भने यो पटक थिएन। श्रीलंका, बंगलादेश र माल्दिभ्स जस्ता टिमलाई पछि पार्दै भुटान पहिलो पटक फाइनलमा पुगेको थियो।
यता, महिला फुटबल टिम भने फेरि एक पटक साग खेलकुदमा आफ्नै घरेलु मैदानमा स्वर्ण पदक जित्नबाट चुक्यो। सधैँ रजत पदकमा अड्किएको नेपाली टिमले यो १३औं सागमा पनि भारतसँग फाइनलमा २-० गोलअन्तरले पराजित भयो। इतिहास रच्ने राम्रो मौका नेपाली टिमले गुमायो।
त्यसो त, यसअघि २०७५ सालमा नेपालले उसैको भूमिमा भएको हिरो वुमेन्स गोल्डकपमा भारतलाई २-१ गोलअन्तरले पराजित गरेको थियो।
गएको वर्ष सहिद स्मारक ए डिभिजन लिग पनि सम्पन्न भयो। यो राम्रो पक्ष हो। तर मंसिर २८ गतेदेखि सुरु भएको लिगले भब्यता नपाउँदा ‘चिनी विनाको चिया’ जस्तै बन्यो।
ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचाल्न सफल भयो। नयाँ टिमले लिगको उपाधि उचाल्यो। बी डिभिजन लिग र मोफसलका प्रतियोगिता चलिरहेकै बेला कोरोना भाइरस (कोभिड १९) ले रोकिए।
यो पटक नेपाली फुटबलका स्टार तथा मिडफिल्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङले अन्तर्राष्ट्रिय लिग खेल्दै नेपालको नाम उच्च राखे। उनीहरु मात्रै हैन, नेपाली महिला टिमकी नियमित सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतले भारतको लिग खेल्दै स्तरीय प्रदर्शन गरे।
यता, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भने विवादबाट यो वर्ष पनि मुक्त हुन सकेन। झनै पदमै रहेका एक ब्यक्तिबाट अर्को ब्यक्तिमा आरोप-प्रत्यारोप र गुटहरु देखा परे।
विभागीय टिमको रवाफमा हराएको प्रदेश टिम
प्रदेश ५ मा गत बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो। अनियमित हुँदै आएको प्रतियोगिता पटक पटक सर्दै भए पनि सम्पन्न भयो। प्रदेश ५ मा प्रतियोगिता मात्रै भएनन् खेलकुदका भौतिक संचरना बने।
आठौं राष्ट्रिय खेलकुदमा विभागीय टिम आर्मीले १४० स्वर्ण, ८२ रजत र ६७ कास्य गरी कुल २८९ पदक जित्दै च्याम्पियन बन्यो। दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य गरी कुल १५७ पदक जित्यो।
एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० कास्य गरी कूल २०३ पदक जित्दै तेस्रो बन्यो। त्यसपछि क्रमशः प्रदेश ३ ले २२ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, प्रदेश ५ ले ११ स्वर्ण, प्रदेश १ ले ९ स्वर्ण, सुदूरपश्चिम प्रदेशले ८ र प्रदेश २ तथा एनआरएनएले समान ६-६ स्वर्ण पदक जित्दा कर्णाली प्रदेशले भने तीन स्वर्ण पदक जित्यो।
यो प्रतियोगिताबाट केही खेलाडीले असाधारण प्रदर्शन गरे भने केही खेलाडीको प्रदर्शन अपेक्षा अनुरुप हुन सकेन।
आर्मीकी गौरिका सिंह पौडीमा १२ स्वर्ण पदक जित्दै चर्चामा आइन्। त्यस्तै, एपिएफका राजु राईले जिम्न्यास्टिकमा ब्यक्तिगततर्फ ५ स्वर्ण जित्दै आफ्नो क्षमता देखाए। आठौं खेलकुदबाट ब्याडमिन्टनमा नयाँ च्याम्पियनको जन्म भयो। एपीएफका दिपेश धामीले आर्मीका रत्नजीत तामाङलाई जित्दै पहिलो पटक च्याम्पियन बने। त्यसबेला दिपेशले भनेका थिए, ‘मेरो राष्ट्रिय च्याम्पियन सपना पूरा भयो।’
क्रिकेटमा ओरालो, कुशल र अञ्जलीको विश्व कीर्तिमान
२०७६ नेपाली क्रिकेटको लागि उपलब्धिहिन जस्तै बन्यो। अन्तर्राष्ट्रिय प्रतियोगिता तथा विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दा २०७६ साल नराम्रो पक्षको साक्षी बन्न पुग्यो।
२०७५ मा भएको आइसिसी टि-२० विश्वकपअन्तर्गत एसिया छनोटको बी च्याम्पियन बन्दै नेपाल एसिया क्षेत्रको फाइनल चरणमा प्रवेश गरेको थियो। तर २०७६ को साउनमा भएको एसिया क्षेत्रको फाइनल चरणमा नेपालले अपत्यारिलो हार ब्यहोर्न पुग्यो।
टि-२० विश्वकप खेल्ने सपना देखेको नेपालको यात्रा एसियाभन्दा माथि पुग्न सकेन। मलेसिया र कुवेतलाई समान ७-७ विकेटले हराएको नेपाल कतारसँग ४ र सिंगापुरसँग ८२ रनले स्तब्ध हुँदा विश्वकप खेल्ने सपना त्यहि तुहियो।
साग खेलकुदमा क्रिकेटतर्फ नेपालले कास्य पदक पायो। आफ्नै घरेलु मैदानमा स्वर्ण जित्ने लक्ष्य राखे पनि नेपालले श्रीलंका र बंगलादेशलाई हराउन सकेन। तर कप्तान ज्ञानेन्द्र मल्लले भने भुटानविरुद्धको खेलमा ५५ बलमा १०७ रन बनाउँदै तारिफयोग्य प्रदर्शन गरे।
महिला क्रिकेटले पनि साग खेलकुदमा कास्य पदक पाउँदा एउटा अनुहार उदाइन्। उनी थिइन् अञ्जली चन्द। पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेकी अञ्जलीले मात्र २.१ ओभर बलिङ गर्दै कुनै रन नदिई ६ विकेट लिइन्। यो उनको टि-२० क्रिकेटमा विश्व कीर्तिमान हो।
नेपाली क्रिकेटले २०७६ माघ २२ देखि २९ गतेसम्म आफ्नै घरेलु मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग-टु को त्रिकोणात्मक सिरिज खेलाउने मौका पायो। तर ओमानले शतप्रतिशत नतिजा निकाल्दा नेपालको खेल भने मध्यम रह्यो।
नेपालले खेलेको चार खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोर्न पुग्यो। पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्न सफल भयो। तर ओमानविरुद्धको दोस्रो खेलमा ८ विकेटले हारेको नेपालले अमेरिकालाई ८ विकेटले नै पराजित गर्न सफल भयो।
यो सिरिजबाट केही नेपाली खेलाडीले राम्रो खेले भने केही खेलाडीको प्रदर्शन खराब बन्यो। पहिलो पटक एकदिवसीय डेब्यु गरेका कुशल मल्ल अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने। उनले रोहित कुमार पौडेलको विश्व कीर्तिमान भंग गर्दै रेकर्ड राखेका थिए। सिरिजमा सुशन भारीको प्रदर्शन पनि उच्च रह्यो।
२०७६ फागुनमा थाइल्यान्डमा सम्पन्न एसिसी टि-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताले नेपालको स्तर कस्तो हो प्रस्ट पार्छ। पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ४३ रनले स्तब्ध बन्यो। तर थाइल्यान्डलाई ६६ रनमा अलआउट गर्दै मात्र ५.३ ओभरमा एक विकेटको क्षतिमा खेल जिते पनि नेपालको लागि ढोका बन्द भयो। सिंगापुरसँगको अन्तिम खेल भने वर्षाको कारण रद्द भयो।
गएको वर्ष नेपाल १४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा फर्कियो। नेपालले कात्तिकमा कीर्तिपुर मैदानमा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेल खेलेको थियो। जुन सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेपछिको पहिलो खेल थियो।
क्यान फुकुवा तर उस्तै
२०७३ बैशाख १३ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) गएको वर्ष असोज २७ गते ब्युँतियो।
असोज ११ गते काठमाडौंमा भएको चुनावी मैदानबाट पूर्व अध्यक्ष विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गर्दै चतुरबहादुर चन्द क्यानका अध्यक्ष चुनिए। उनले आफूले अध्यक्ष मात्रै जितेका होइनन्। क्यानका १७ सदस्यीय केन्द्रिय कार्यसमितिमा सबै चतुरबहादुरकै प्यानल जित्यो।
योसँगै आइसिसीले पनि क्यान फुकुवा गरेको निर्णय गरेको थियो। लामो समय आन्तरिक किचलोको कारण निलम्बनमा परेको क्यान फुकुवा हुँदा पनि नेपाली क्रिकेटरले भने अभिभावकत्व सहसुस गर्न सकेन। त्यसको ठीक एकदिन पछि पारस खड्काले कप्तानबाट राजीनामा दिए। यसले क्रिकेटरमा झनै एकप्रकारको डर पैदा गरेको थियो। भित्री मान्छेकै अनुसार तत्कालिन कप्तान पारस र निर्वाचित भएर आएका क्यानका पदाधिकारीबीच बेमेल छ भन्ने कुरा पनि बाहिरिए।
आइसिसीकै निरिक्षणमा सम्पन्न भएको चुनावबाट के प्रष्ट देखिन्थ्यो भने, अध्यक्ष चतुरबहादुर र सचिव अशोकनाथ प्याकुरेल पक्षलाई काम गर्न क्यानभित्रै कुनै असहयोग हुने छैन। एउटै प्यानल क्यानको नेतृत्वमा आएको हुँदा नेपाली क्रिकेटका लागि काम छिटो र प्रभावकारी हुनेछ। तर यतिबेला ती अपेक्षामा तुसारापात भइदियो। क्यान आयो सुत्यो जस्तै भइदिएको छ। क्यान त छ तर छैनन् गतिविधि। अध्यक्ष चतुरबहादुर भने साग क्रिकेट र डिभिजन-टु आयोजना गरेको भन्दै गर्व गर्छन्।
महिला भलिबलले देखाएको आश
गएको वर्ष नेपाली महिला भलिबलमा नयाँ आश देखियो। साग खेलकुदमा महिला भलिबलले जितेको रजत पत्रक मात्रै होइन खेलको स्तर पनि पहिले भन्दा राम्रो भएको विश्लेषण भइरहेका थिए।
महिला भलिबलले गएको वर्ष बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोनमा स्वर्ण पदक जित्नु ऐतिहासिक उपलब्धी बन्यो।
गएको वर्ष नै १३औँ सागमा महिला भलिबल टिमले पहिलो पटक रजत पदक जितेको थियो। फाइनलमा भारतलाई कडा टक्कर दिएको नेपालले खेल ३-२ ले गुमाएको थियो।
महिला भलिबलमा गएको वर्षको पदक उपलब्धीसँगै नयाँ खेलाडीहरु खेलमा आउने आश पनि देखिएको थियो। सेन्ट्रल जोन र सागमा पनि देखिएका केही खेलाडीले पछिसम्मका लागि राम्रो गर्ने आश देखाएका छन्।
राखेपमा रमेश, एनओसीमा जीवनराम
गएको वर्ष असार २३ गते राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भए। प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिएका उनको नियुक्ति खेल जगतमा चर्चाको विषय बन्यो। तत्कालिन सदस्यसचिव केशव विष्टले नै अर्को कार्यकाल सदस्यसचिव हुने दौडधुप गरे पनि एकाएक सिलवाल उदाएका थिए।
नेपाल भलिबल संघको सिफारिस मिलाएर सदस्यसचिव बनेका उनले साग खेलकुदको सफल आयोजनाको जस पाए। उनको सक्रियतामा सम्पन्न १३औँ सागको भौतिक पूर्वाधार निर्माण र खेलाडीको सुविधामा प्रश्न उठे पनि साग आयोजना गर्नु महत्वपूर्ण उपलब्धी नै थियो। भलै चाहिँदो रकम खर्च गर्ने छुट रहेको सागको खर्च अझै सार्वजनिक हुन सकेको भने छैन।
यस्तै गएको वर्ष भदौ २८ गते नेपाल ओलम्पिक कमिटी (एनओसी) मा जीवनराम श्रेष्ठ अर्को चार वर्षका लागि निर्वाचित भए। दुई पटक राखेपसदस्य सचिव भइसकेका र सांसद समेत रहेका जीवनरामको निरन्तरताले खेलकुदको संयन्त्र एउटै परिधिमा रह्यो।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्ष रहँदै साग खेलकुदको अयोजनामा जीवनरामले आफ्नो वर्ष सफल बनाए।
खेलकुद विधेयक
राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ को निर्माण सकिनु पनि गएको वर्षको खेलकुद वृत्तमा केन्द्रमा रहने विषय हो। कतिपय पदाधिकारी नै अनभिज्ञ रहेको विधेयक ऐनका रुपमा आएसँगै त्यसले नेपाली खेलकुदको विकासमा नयाँ काम गर्ने आश गरिएको छ।
नयाँ विधेयक हेर्दा एकथरी ‘खेलकुद परिषद’ भद्दा भएको बताइरहेका छन् भने अर्काथरी समानुपातिक प्रतिनिधिमूलक सहभागिता भएको बताउँछन्। गएको साउनमा राष्ट्रिय सभाबाट पारित विधेयकमा थोरै बुँदाहरु सच्याउँदै गएको फागुनमा प्रतिनिधिसभाबाट पारित भएको थियो। जुन अब राष्ट्रिय सभामा गएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ।
राष्ट्रिय खेलकुद परिषदको अधिकार कटौती गर्ने गरी प्रावधानहरु राखिएको, सञ्चालक परिषद् भद्दा भएको साथै केन्द्र, प्रदेश र स्थानीय तहमा खेल क्षेत्रको प्रभावकारी समन्वय गराउन नसकिएको भन्दै आलोचना भएको विधेयकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको स्पष्ट ब्याख्या, राखेपको क्षेत्राधिकार, ओलम्पिक कमिटीको भिन्न प्रावधान, संघहरुको मिल्दो परिभाषा साथै खेलकुदमा प्रतिबन्धित औषधि सेवन र खेल मिलेमतो रोक्ने प्रयासबारे पनि केही विषय उल्लेख भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।