काठमाडौं–भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ढिला गरि सुरु भएकोमा पछिल्लो समय तीव्र बनेको छ। जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ४६ पुगेको छ। त्यस्तै २ सय ८८ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमणको आँकडाले यसमा मिलेको सफलता–असफलता र तयारीको समेत जानकारी दिन्छ। यदि अन्य देशको कोरोना संक्रमित र मृत्यु संख्या तुलना गर्ने हो भने भारतमा मृत्यु हुनेको संख्या चीन, अमेरिका र फ्रान्सभन्दा बढी रहेको पाइन्छ।
भारतमा कोरोना संक्रमितको संख्या ७ हजार हुँदा मृत्यु हुनेको संख्या २ सय ४९ थियो। जबकि जर्मनीमा संक्रमित संख्या त्यति नै हुँदा १३ जनाको मात्रै मृत्यु भएको थियो। दक्षिण कोरियामा यसको संख्या ५४ थियो भने अमेरिकामा जम्मा सयमात्रै थिए।
चीनमा ७ हजार संक्रमित हुँदा १ सय ७० जनाको मात्रै ज्यान गएको थियो भने फ्रान्समा १ सय ७५ मात्रै थिए।
स्पेनमा भने त्यो संख्या बढी थियो। ७ हजार संक्रमित हुँदा स्पेनमा मृत्यु हुनेको संख्या २ सय ८८ थियो । त्यस्तै इटालीमा ३ सय ६६ को मृत्यु भएको थियो।
लकडाउन लम्ब्याउने तयारी
भारतमा २१ दिनदेखि लकडाउन जारी छ, जुन अप्रिल १४ सम्म कायम रहने छ। यसलाई थप बढाउने या नबढाउने भन्नेमा केन्द्र सरकार अझैं पनि मन्थनमा छ।
यद्यपि राज्य सरकारले आ–आफ्नै तरिकाले लकडाउन घोषणा गर्ने होड पनि अहिले भारतमा चलेको छ।
भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले सबै प्रान्तका मुख्यमन्त्रीहरुसँग अप्रिल ११ मा भिडियो कन्फ्रेन्समार्फत् यसबारेमा कुराकानी गरेका थिए। त्यस छलफलमा १० राज्यका मुख्यमन्त्रीले लकडाउन बढाउन सुझाव दिएका थिए।
यसबारे के हुने भनेर अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन। प्रधानमन्त्री मोदीले देशबासीका नाममा सम्बोधनमार्फत् यसको नयाँ घोषणा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।