इटहरी–पूर्वपश्चिम राजमार्गदेखि १ किलोमिटर उत्तरमा पर्छ सीतापुरे टोल। मोरङको सुन्दरहरंैचा नगरपालिका ६ स्थित उक्त टोलमा सरदर ७० परिवारको बसोबास छ। अधिकांश जनजाति र दलित समुदाय। जातीय बहुलता भए पनि दैनिक गुजाराको प्रकृति समान छ। उक्त टोलको पूर्वपट्टिबाट बग्ने गछीया खोला नै उनीहरुको गुजाराको मुख्य श्रोत हो।
खोलाबाट बालुवा निकाल्नु र गाडीमा बालुवा भर्नु उनीहरुको दैनिकी हो। सुख–दुःख जस्तो भए पनि खोलाले गुजारा चलाइदिएको छ। तर आजकाल लकडाउनले गर्दा गाडी चलेको छैन। खोलामा चालेको बालुवा कुन दिन बगेर जाने हो ठेगान छैन। सडक बन्द छ। त्योसँगै उनीहरुको गाँस पनि बन्द हुने अवस्थामा छ।
लकडाउनपछि अधिकांश स्थानीय सरकार राहतको प्याकेज लिएर घर–घरमा गइरहेका छन्। पहिलो चरणको राहत वितरण भइसकेको र दोस्रो चरणको राहत बाँड्ने प्रकृयामा स्थानीय सरकार लागिपरेको छ। तर कतिपय स्थानमा राहतमा राजनीति छिरिसकेको छ। वास्तविक गरिब र मजदूरले राहतको नाममा एक गेडो चामल पाएका छैनन् ।
त्यसैमध्येको एक हो सीतापुरे टोला। केही दिन अगाडि वडाध्यक्षसहितको टोलीले राहत वितरणका लागि नाम संकलन ग¥यो। सो टोलका सबैले नाम टिपाए। भोलिपल्ट राहत बोकेको एउटा ट्याक्टर टोलमा छि¥यो। सबैले राहतको आश गरिरहेका थिए। तर छुट्टै बाईकमा आएका केही मान्छेले ३ घरमा मात्र एउटा बोरामा चामल, दाल र एकपोका तेल थमाए । त्यसपछि ट्याक्टर बाटो लाग्यो ।
‘कसैलाई दियो, कसैलाई छुटायो। खै किन हो हामीलाई दियो, तर अरु घरमा दिएन,’ स्थानीय मानबहादुर परियारले भने, ‘फेरि पनि ल्याउनेचाहिँ भन्दैछन्। अब देलान् कि !’
‘हामी सौताका छोरा हुम् कि ! किन हो छुटाउनु पर्ने ? घरमा चामलको गेडो छैन बालुवा खाने कुरा आएन,’ सँगै बसेका बिन्द्रमान राईले थपे। बिन्द्रामानको कुरा सकिन नपाउँदै छेवैमा तास हेरिहेका सबैले एकै स्वरमा राहतमा विभेद भएको बताए। एकघरमा ३ देखि ५ जनाको परिवार छ। आफू खान नपाए पनि छोराछोरीलाई खुवाउन पाए आनन्द हुने बताउँछन् बिन्द्रमान ।
५ दिनअघि स्थानीय युवा रोशन लिम्बुले राहत दिए। उनले दिएको ५ केजी चामलले केही दिन सहज भएको मीना तामाङ बताउँछिन्। ‘अब फेरि आउँछ त भन्दैछन् तर के गर्नु चुलो बल्नै छाडिसक्यो,’ उनले भनिन्, ‘अस्ति पनि नेताहरु आका थिए। तर चोरेर ल्याएजस्तो कसैले देख्ला कि जस्तै गरेर फनक्क फर्काएर लगे ।’
‘बालुवा बेचेर दुःख–सुख खाइएकै थियो,’ मीनाले थपिन्, ‘अब त्यही बालुवा खाने बेला भएको छ । के हैजा आयो यो आपतको बेला ।’
अब केही दिन पनि यसैगरी बित्यो भने खानै नपाएर मरिन्छ कि भनेर चिन्तित छन् उनी । उनीहरुको खेतीपाती भनेकै गछीया खोला हो। असारदेखि खोलामा बालुवा निकाल्न पाइँदैन । त्यसैले आधापेट खाएरै भए पनि धमाधम बालुवा चालिरहेका छन् उनीहरु । लकडाउन खुलेपछि बालुवा बेचेर जोहो गर्ने धुनमा छन् उनीहरु ।
मीनाको कुरा सकिन नपाउँदै मनोज परियारले थपे, ‘के गर्नु सर बिजोग छ । बालबच्चा बिरामी हुन्छन्। औषधि किन्ने पैसा छैन। कसैसँग ऋण गरौ भने यो बेला कसले देला। ठूलासाहुँकोमा जान पाइँदैन । डाक्टरले पौष्टिक खुवाउनु भनेको छ । घरमा चामल छैन के खुवाउने होला सर?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।