इटहरी- कारोना भाइसरको संक्रमण फैलिन नदिन भन्दै धरान उपमहानगरपालिकाले लकडाउनमा शून्य सहनशिलताको प्रतिबद्धता जनाएको छ। धरान सबैभन्दा धेरै लकडाउन उल्लंघन गर्ने सहर भनेर प्रचार भएपछि उपमहानगरले शून्य सहनशिलताको नियम अख्तियार गरेको हाे।
शुक्रबार साँझ र शनिबार बिहान लकडाउन उल्लंघन गर्ने २६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेकोछ। कोरोना भाइरस (कोभिड- १९)को संक्रमणको फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएको हो।
पैदल हिड्नेदेखि मोटरसाइकल वा स्कुटर चलाउने सर्वसाधारणसम्मलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए। बिहान र साँझको समयमा व्यायमको लागि डिड्नेहरुको कारण सडकमा भीड बढेको उनको भनाइ छ। एउटै समयमा तरकारी बजार जाने धेरै भएकोले भीड बढेको हो।
चाैरमा उभ्याउने अभियान
अब व्यायम घरमै गर्नुपर्ने र भीडभाड नहुने समयमा मास्क वा ग्लोब्स लगाएर मात्र बजार निस्कनुपर्ने राईले बताए। उपमहागरको आग्रह नमान्नेलाई पक्राउ गरी चाैरमा उभ्याउने अभियान सुरु भइसकेको उनको भनाइ छ।
‘यसबीचमा जनताबाट धेरै असन्तुष्टि आयो। सबै जनताको घरमा जाने अवस्था पनि छैन। त्यसैले हरेक दिन दिउँसो १ बजेदेखि आधा घण्टा जनतासँग मेयर कार्यक्रम गर्ने निर्णय गरेको छु,’ उनले भने, ‘कसैको केही गुनासो भए टेलिफोन गर्न सक्ने छन्। त्यसपछि उपमहानगरले समस्या समाधानको लागि तत्काल एक्सन गर्छ।’
कोरोना संक्रमण नियन्त्रणका लागि उपमहानगरले चोक तथा अस्पताल आसपासका क्षेत्रमा स्यानिटाइजर छर्कने काम सुरु गरेकोछ। बजार अनुगमनको क्रममा जफत भएका स्यानिटाइजरलाई केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा लगेर अल्कोहलको मात्र टेस्ट गर्ने र जनतालाई वितरण गर्ने काम थालिएको मेयर राई बताउँछन्।
सोहि क्रममा भेटिएका १९ सय थान मास्क स्वास्थ्यकर्मी र नागरिकलाई वितरण गरिएको उनले बताए।
स्वास्थ्यकर्मी चाैबीसै घन्टा अलर्ट
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कारण धरान उच्च जोखिममा रहेको मेयर राईको बुझाइ छ। त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्नको लागि कोरोना संक्रमण समाप्त नभएसम्म बिदा नदीने निर्णय गरिएको उनले बताए।
व्यक्तिगत सुरक्षा सामग्री दिएर जुनसुकैबेला पनि फिल्डमा खट्नको लागि तयार बनाइएको उनको भनाइ छ। ‘विपत्तको घडीमा कालोबजारी मौलाउन सक्ने भन्दै नियमित बजार अनुगमन गर्ने काम भइरहेको छ। गरीब तथा बिपन्न मजदुर जनताको लागि राहत कोष तयार पारिएको छ,' मेयर राई भन्छन्, ‘जसमा बिभिन्न सामाजिक विकास अन्तर्गत पर्ने तालिम गोष्ठी र सेमिनारको बजेट रकमान्तर गरिएको हो।'
राहत कार्यक्रम अन्तर्गत ८ हजार ९ सय घरधुरीमा राहत पुर्याइएकाे र दास्रो चरणको राहत केही दिनमै पुर्याइने निर्णय भएको उनले बताए। उनले खाद्य पदार्थ सहयोग गर्न चाहनेले उपमहानगरको फुड बैंकमा जम्मा गर्नुपर्ने बताए। उपमहानगरले एकद्वार प्रणालीमार्फत् राहत वितरण गरिरहेको छ।
अप्ठ्याराेमा परेकाहरुकाे व्यवस्थापन
मेयर राईका अनुसार सडकमा बेवारिसे भेटिएका मानिसलाई सामुदायिक भवनमा राखेर खाने व्यवस्था मिलाइएको छ। लामो समयदेखि धरानमै थुनिएर बसेका धरानबाहिरका जनतालाई राति वा बिहानको समयमा गन्तव्यसम्म पुर्याउने काम सुरु भएको छ।
‘क्वारेन्टाइन व्यवस्थापनको लागि उपमहानगर लागि परेको छ। सैनिक आवसीय विद्यालयमा ६२ बेडको र संघीय प्रहरी इकाईमा १० बेडको क्वारेन्टाइन निमार्ण भएकोछ,’ उनले भने, ‘हाल सैनिक विद्यालयको क्वारेन्टाइनमा २ जना महिलासहित १० कोरोना संक्रमणकाे आशंका गरिएका व्यक्तिलाई राखिएको छ। दिल्लीको मुस्सिम सम्मेलनमा भाग लिएर आएका ४ जना पनि सोहि क्वारेन्टाइनमा छन्। उनीहरुलाई खान र सरसफाइको लागि पूर्ण सर्तकर्ता अपनाइएको हो।’
मेयर राईका अनुसार बाहिरबाट आउने नागरिकको लगत संकलन गर्ने र नियमित अनुगमन गर्ने काम भइरहेको छ। वडाध्यक्षको संयोजकत्वमा बनेको अनुगमन समितिले वडाभर अनुगमनको जिम्मा लिएर काम गरिरहको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।