काठमाडौं- लेकसाइड रातको आठ बजेतिर ब्युँझन्छ। दिनभर स्थिर देखिएको सहर रातमा नै ककटेल बनेर चलायमान हुन्छ। हिन्दी चलचित्रको ‘तेरे मेरे बीचमे’देखि अंग्रेजी ‘आई डू इट फर यू’ र नेपाली ‘तिमी नै हौ’ हुँदै तिब्बती ध्यानसंगीतको अनौठो मिठास आइरहेको हुन्छ।
रातको झन्डै तीन घण्टा देखिने गरी आफैमा मस्त रहने पोखरा लेकसाइड रात बढेसँगै विस्तारै ओझेल पर्दै जान्छ। कृत्रिम प्रकाशमा पनि लेकसाइडले जति आनन्द विरलै अर्को सहरले देला। दिउँसोको हिमाली आँखा र मनभरी भएको तालको पानी रातको सुन्दरतामा गौण हुन्छ, बिहान नहुञ्जेल नै।
सफा सडक भएकाले लेकसाइड पैदल डुल्दाको जस्तो आनन्द अर्को छैन। त्यही पैदल यात्रा रातमा त अझ रोचक बनिरहेको हुन्छ। हिँड्दा मात्र होइन, सडक किनारमा घन्टौँ उभिएर वरपर हेर्न होस् या रातको मधुरो प्रकाशमा फेवा तालको शीतल अनुभव गर्न होस्, आनन्द मिलिहाल्छ।
तर अहिले लेकसाइड पनि आफ्नो पुरानो जोशमा छैन। कोरोना भाइरस (कोभिड १९) का कारण विश्व ठप्प नहुँदो हो त अहिले लेकसाइडमा पर्यटकका अथाह पाइलाहरु चलाएमान हुने थिए। तर सुरु भइसकेको भ्रमण वर्षसमेत स्थगित गरेर लेकसाइड बिहान, दिन र रात हरसमय उस्तै शान्त छ।
तीन महिनाअघि लेकसाइडमा रातको तीन घन्टाका डुल्दाका यी तस्बिरले लकडाउनको बन्दी जीवनमा पनि सम्झनाका मीठा घुमन्ते यादहरु दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।