यतिखेर विश्वकै महाशक्ति राष्ट्रहरु महामारीको दलदलमा फसिरहेका छन्। यस्तो लाग्छ यसबाट निस्कनै कठिन छ। विज्ञानको नवीनतम आविस्कारले आज विश्वलाई नै यस स्थानसम्म त पुर्याइदिएको छ, तर अन्तरिक्षको समेत परिकल्पना गर्ने वैज्ञानिकले यो अवस्था आउला भनेर कल्पनासम्म गरेका थिएनन्।
पृथ्वीको केही भागमा मात्र फैलिएको यो महामारी भोलिका दिनमा सम्पूर्ण विश्वभर फैलँदा अवस्था कस्तो हुन्छ, हामीले अनुमान नै लगाउन सक्दैनौं। यसकारण प्रकृतिले दिएको गास, बास,कपास तथा मानवीय स्वास्थ्य सुरक्षा प्रमुख विषय रहेछ भन्ने वुझ्नु आवश्यक छ।
जीवविज्ञानले थुप्रै अन्वेषण गरिसकेको छ, तै पनि यीबाहेकका यहाँ थुप्रै परजीवी छन् जो मानवीय सभ्यताकै लागि घातक सिद्ध हुन सक्छन् र विज्ञानको खोज मानवीय सुरक्षाका लागि हुनु जरुरी थियो, न कि घातक अणु सिद्धान्त।
अहिले विश्व महामारीमा देखिएको त्रासदीपूर्ण अवस्थाले अत्यन्तै विकसित मुलुक पनि रोकथाम तथा उपचारका लागि तयारी अवस्थामा पटक्कै थिएनन् र छैनन् भन्ने देखाएको छ। साधारण मास्कसमेत नपाएर परजीवी आक्रमणमा परी ज्यान जानु स्वयं वैज्ञानिक आविस्कारले विश्वलाई गिज्याइरहेको आभास हुन्छ।
यस भाइरसविरुद्ध कुनै औषधि वा खोप पत्ता नलागेसम्म र एकजना पनि संक्रमित रहेसम्म त्यो महामारीकै रुपमा बिस्फोट हुने सम्भावना रहन्छ। यसो भन्दै गर्दा अबका उपायहरु के हुन सक्छन् त भन्ने जिज्ञासा आउन सक्छ। यहाँ तत्कालै कुनै चमत्कार नभएसम्म रोकथामका उपायबाहेक हाम्रासामु विकल्प छैन। सामाजिक दूरी तथा मास्कको प्रयोग, धेरैभन्दा धेरै टेस्ट गरि बिरामी पत्ता लगाई निगरानीमा राख्नुबाहेक अरु उपाय नहुन सक्छ।
सरकारी क्षमतामा वृद्धि गरि टेस्टको दायरा बढाउँदै सबैमा बानी ब्यवहार परिवर्तन गराउनु पर्ने र हातको सरसफाइमा ध्यान केन्द्रित गरेमा रोगबाट दूरी कायम गर्न सकिएला, तर धेरै अनुसन्धानकै क्रममा नै छन्।
वास्तवमा भन्नुपर्दा पश्चिमाहरुमा हात मिलाउने, चुम्बन गर्ने र गला मिलाउने प्रवृत्तिले यो रोग बढी फैलिएको हुन सक्छ। यद्यपि हाम्रो संस्कार नमस्कारले स्वयं सामाजिक दूरी कायम राख्दछ, तर विश्वको तुलनामा नेपालमा एक अर्कालाई पहिचान गर्न सहज छ, निगरानी गर्न कठिन छैन। साथै हामीकहाँ सहरीकरण थोरै छ र जनघनत्वसमेत कम भएकाले महामारीले विशाल तथा भयावह रुप नलेला भन्ने आशा गर्ने ठाउँचाहि छन्। यसो भन्दै गर्दा हाम्रा सांस्कृतिक र परम्परागत जमघट शैलीहरु जुनसुकै बेला घातक सिद्ध हुन सक्छन् र आगामी दिनहरुमा यी व्यवहारहरुमा परिबर्तन हुन सक्ने देखिन्छ । उपचारमा समेत अबका दिनमा नवीनतम प्रयोग जस्तै रोबटिक उपचार सेवा भएमा आश्चर्य मान्नु नपर्ला।
आगामी दिनमा स्वास्थ्य सेवा प्रभाबकारी हुनुपर्ने रहेछ भन्ने चेतचाहिँ अबश्य नै खुल्नेछ । रोकथाम तथा उपचार सेवामा लगानी बढ्न सक्छ। अस्पतालको नाजुक स्थितिमा सुधार हुँदै स्वास्थ्य जनशक्तिको महत्व बुझाउन पहिले जसरी सायद आन्दोलनकै बाटो रोज्नु नपर्न सक्छ।
रोगले ग्रसित स्थितिमा आर्थिक पाटो अत्यन्तै कमजोर हुनेछ। धेरैजसो रोजीरोटी गुम्न सक्नेछन। यसको प्रत्यक्ष असर होटल तथा पर्यटन व्यवसायमा पर्दा हाम्रो जस्तो देशमा गाऊ फर्की आधुनिक कृषिमा जीवन बिताउने अवसर सिर्जना भै आत्मनिर्भरता केही हदसम्म हुन सक्ला। साथै रोगले आक्रान्त मानिसहरु र आफन्त गुमाउनुको पीडाले मनोवैज्ञानिक असर पर्दा मानसिक रोगहरुको सम्भावना बढ्न सक्छ।
अहिले विश्वका धेरैजसो राष्ट्रहरुले लकडाउनलाई नै अँगालेको देखिन्छ। यो एउटा सामाजिक दूरी कायम गर्ने उत्तम पाटो र रोग फैलन नदिने बनाउनु हो। गरीब तथा स्वास्थ्य अवस्था कमजोर भएका देशका लागि उपयुक्त बाटो पनि हो, ताकि पूर्वतयारीमा जान आवश्यक समय मिल्छ।
हाम्रोजस्तो मुलुकमा सामाजिक दूरी तथा अन्य सरसफाइका उपाय सजिलै अबलम्बन गर्न सकिने अवस्था नभएकाले खोप आविस्कार नभएसम्म सायद रोकथामको पाटो नै यही बन्न पनि सक्छ अथवा देशभित्रका धेरैभन्दा धेरै मानिसको जाँच गरि रोग छैन भन्ने पुष्टि हुनुपर्छ । छिमेकी तथा अन्य देशमा यो कस्तो र कति हदसम्म जान्छ,जसका आधारमा अन्तर्राष्ट्रिय नाका तथा हवाई यातायात खुल्ने विकल्प सोच्न सकिएला ।
हामीले हल्लाहरु पनि सुनकै छौ कि हामीसँग भएको शक्तिले यो रोगलाई जित्न सक्छौं। तर अनुसन्धानको पाटो पनि हुन सक्ला। अतः विश्वबाट पाठ सिक्न के जरुरी छ भने यो बिल्कुल नयाँ रोग हो र यसलाई चिन्ने वा लड्न हाम्रा शरीरका सेनाहरु बनेका छैनन् तै पनि हामीमा हाम्रो सहनसहन र विभिन्न खोपहरुले आशावादी बनाउन सहयोग पुर्याएको छ। साथै भाइरसले स्वरूप परिवर्तन गर्दै जादा अझ शक्तिशाली वा कमजोर पनि हुन सक्ने सम्भावना चाहिँ छ।
अब दुइवटा पाटालाई हेर्न सकिन्छ खोप नबनेको अबस्थामा धेरै मानिस संक्रमित बनि रोग प्रतिरोधात्मक क्षमता विकास भै भाइरस कमजोर हुनेछ र अर्को पाटो खोप वा औषधिको आविष्कार हो, जहाँ विश्वको ध्यान केन्द्रित भएको छ। आशा गरौं छिटै बन्नेछ तर अहिले ठूलो महामारीको चपेटामा परेका देशले नै यसको आविष्कार गर्नेछन् र पहुँच भएका देशले यसको सुरुवाती उपयोग गर्न सक्लान्। तर हामीमा सहज उपलब्ध भएमा करिब डेढदेखि दुई बर्ष लाग्न सक्छ। तसर्थ यसबीचमा आउन सक्ने विषम महामारीका लागि हामी सदैव चनाखो हुनुपर्छ ।
लेखक कन्सल्टेन्ट फिजिसियन हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।