काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको भारी अन्तरले हराउँदै उपाधि जितेको हो ।
पाँच खेलमा लगातार जित निकाल्दै १० अंकसहित नेपालले उपाधि आफ्नो हात पारेको हो । अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दिएको २१२ रनको विशाल लक्ष्य बनाउने क्रममा सामोआ २० ओभरमा सात विकेट गुमाउँदै ८७ रनमै समेटियो ।
नेपालका लागि ललित राजवंशीले ३, सन्दीप लामिछाने, रोहित पौडेल र करण केसीले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालका ओपनर आशिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा चार विकेट गुमाउँदै २११ रन बनाएको थियो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३१ बलमा अर्धशतक बनाएका उनले ४१ बलमा ६९ रन बनाएका हुन् । टि–२० आई करिअरमा उनको यो सर्वाधिक स्कोर हो ।
यस्तै दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै १५ बलमा कुशल भुर्तेलले १७ रन बनाए । यता लोकेश बमले मात्र १२ बलमा ३९ रनमा अविजित रहे ।
१२ बल नै खेलेका कप्तान रोहित पौडेलले १२ बलमा २१ रन तथा आरिफ शेखले ७ बलमा ९ रन बनाए । नेपाल सुपर सिक्सका दुई खेलअगावै विश्वकपमा पुगिसकेको थियो । एसिया प्यासिफिक क्षेत्रबाट नेपाल, ओमान र यूएई विश्वकपमा पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।