काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ।
कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान सफल पार्न अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
शिक्षा लिनबाट वञ्चित दलित, सीमान्तकृत र गरिब परिवारमा विद्यार्थीहरु विद्यालय लैजानका लागि एक विद्यार्थी भर्ना गर्न राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाई समेत आह्वान गर्ने निर्णय गरेको छ।
कानुनमन्त्री शेरबहादुर तमाङका अनुसार मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।
के भयो आइजिपीबारे?
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धी निर्णय लम्बिएको छ।
ओली र प्रचण्डको रोजाइमा फरकफरक व्यक्ति परेपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न नसकेको हो। कसलाई आइजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्ताव नै पेश गरेनन्। मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा छलफल भए पनि प्रधानमन्त्रीबाट प्रस्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको गृहका एक अधिकारीले बताए।
स्रोतका अनुसार ओलीको रोजाइमा पुष्कर कार्की तथा प्रचण्डको रोजाइमा सर्वेन्द्र खनाल परेका छन्।
नेपाल प्रहरीमा कुरा नमिलेकाले सशस्त्र प्रहरीको आइजिपी नियुक्ति प्रक्रिया पनि अघि बढेन। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।