धनगढी– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ प्रतिशत राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ८७ करोड ९९ लाख ५१ हजार रुपैयाँ लक्ष्य लिएकोमा फागुनसम्ममा २ अर्ब ४९ करोड ९१ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ।
कैलाली भन्सार कार्यालयलाई विगतको तुलनामा चालू आर्थिक वर्षका लागि राजस्व संकलन लक्ष्य निकै बढाएर दिइएको थियो। भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७३/७४ को तुलनामा चालू आर्थिक वर्षका लागि राजस्व संकलन लक्ष्य ५४ प्रतिशत बढी निर्धारण गरिएको थियो।
लक्ष्य वृद्धि गरेर दिएका कारण कार्यालयलाई लक्ष्य प्राप्त गर्न कठिनाई भएको भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले बताए।
गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालय कैलालीलाई २ अर्ब ८ करोड ९१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन लक्ष्य दिइएको थियो। गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले तोकिएको राजस्व संकलन लक्ष्यभन्दा शतप्रतिशत बढीले राजस्व संकलन गरेको जनाएको छ। सो कार्यालयले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड ४५ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
कार्यालयले आर्थिक वर्ष २०७४/०७५ को साउन र भदौ महिनामा भने तोकिएको लक्ष्य प्राप्त गर्न सकेको थिएन। कार्यालयले दिएको तथ्यांक अनुसार असोज महिनामा सबैभन्दा बढी राजश्व संकलन गरिएको थियाे। सो महिनामा कार्यालयले लक्ष्यभन्दा १ सय २५ प्रतिशत बढीले राजश्व संकलन गरेको छ। कार्यालयले साउन महिनामा २७ करोड १५ लाख ९६ हजार रुपैयाँ लक्ष्य दिएकोमा १९ करोड ४३ लाख ५१ हजार रुपैयाँ अर्थात ७१ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको थियो।
कैलाली भन्सार नाकाबाट हाईस्पिड डिजेल, पेट्रोल, बिस्कुट, सिमेन्ट, कागज, ग्याँस, खाद्यान्न, खैनी, पत्थर कोईला, ग्लेज टायल, चकलेट, सवारी साधन तथा स्पेयर पाट्र्स् लगायतका सामान आयात भइरहेका छन् ।
भन्सार प्रमुख उप्रेतीका अनुसार कार्यालयले सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट ४० प्रतिशत, बिस्कुटबाट ७ प्रतिशत, टायल्स, मार्वल, ट्याक्टर, खाद्यान्न लगायत अन्यबाट बाँकी राजस्व संकलन गर्ने गरेको छ। उनले भन्सार कार्यालयबाट चिनी आयात भएको नदेखिएको बताए। भन्सार प्रमुख उप्रेतीले कैलाली भन्सार कार्यालयबाट निर्यात हुने सामान न्यून रहेको बताए। उनका अनुसार कैलाली भन्सारबाट खैर, कित्था मात्र निर्यात भईरहेको छ। ७ नम्बर प्रदेशलाई जडिबुटी उत्पादनमा राम्रो प्रदेश मानिएको छ।
प्रदेशको कैलाली भन्सार र महेन्द्रनगर भन्सार कार्यालयमा जडिबुटीको परिक्षण गर्ने स्थान नहुँदा यस क्षेत्रमा उत्पादन भएका जडिबुटीहरु नेपालगञ्ज भन्सार हुँदै भारत निकासी हुने गरेको छ। भन्सार प्रमुख उप्रेतीले यस प्रदेशका लागि कुनै एक स्थानमा जडिबुटी परिक्षण केन्द्र राख्नुपर्ने माग गरे।
उनले यस क्षेत्रमै उत्पादन हुने सामानहरु पनि भारतबाट आयात भइरहेको बताए। ‘सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न नीति, योजना बनाउन जरुरी छ’, उनले भने, ‘भन्सार कार्यालयले आयातलाई रोक लगाउन सक्दैन।’ उनले कुन–कुन वस्तु स्थानीय उत्पादन हुन् त्यो बारे सरकारलाई जानकारी गराएर विशेष योजना बन्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।