एजेन्सी–कोरोना भाइरस संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदैं आएको छ । विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन्। तर भारतमा ८१ वर्षकी वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन्।
पञ्जावकी कुलबन्त कौर कोरोना भाइरसको संक्रमण जितेर अस्पतालबाट घर फर्कन सफल भइन्। चन्डीगढको मोहाली सहरमा बस्दै आएकी उनी संक्रमणपछि निरास हुँदै अस्पताल पुगेकी थिइन्। तर फर्कँदा काृेरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छन्।
यो सबै उनको बलियो इच्छाशक्तिका कारण सम्भव भएको परिवारका सदस्य र चिकित्सकको भनाइ छ।
छोरा गुरमिन्दर सिंहका अनुसार उनी विभिन्न रक्तचापलगायतका दीर्घ रोगबाट यसअघि नै पीडित थिइन्। उनी आफ्नी आमालाई बचाउनुको श्रेय चिकित्सकलाई दिन चाहन्छन्।
‘जब आमालाई कोरोना भाइरस देखियो हामी घरमै क्वारेन्टाइनमा थियौं,’ गुरमिन्दरले भने, ‘उनी अस्पतालमा थिइन्, उनीसँग हाम्रो भेट भएको थिएन, हामी आत्तिएका थियौ।’ मोहालीस्थित एक निजी अस्पतालका डा दीपक भासीनले उनको उपचार गरेका थिए। उपचारमा भइरहेको प्रगति उनले परिवारलाई जानकारी दिएका थिए।
‘तीन वर्षदेखि ब्लड प्रेसर र सुगरकी बिरामी आमाले एकै पटक अस्पतालमा कोरोनालाई जितेको खवर हामीले पायौं,’ छोरा गुरमिन्दरले भने, ‘हामी उनको उमेरदेखि डराएका थियौं।’
अस्पतालमा पनि कुलवन्त आफ्नो रिपोर्ट नेगेटिभ आउनेमा विश्वस्त थिइन्। अस्पतालमा उनको मनोबल एकदमै उच्च थियो। जसले गर्दा केही दिन अस्पताल बसाईपछि कोरोना परीक्षणमा उनले भनेजस्तै नेगेटिभ रिपोर्ट आयो।
चन्डीगढमा पहिलोपटक बेलायतबाट फर्किएकी २३ वर्षीया युवतीलाई संक्रमण देखिएको थियो। उनकी साथी र कुलवन्तको फ्ल्याट सँगै थियो। सोही दौरान उनलाई कोरोना सरेको थियो । उनीसँग सम्पर्कमा आएका सबैलाई अस्पताल लगिएको थियो। पीसीआईमा उनीहरुलाई भर्ना गरिएको थियो । उक्त अस्पतालमा स्थान नभएपछि उनीहरुलाई खरडस्थित सरकारी अस्पताल लगिएको थियो।
८१ वर्षकी कौरलाई निजी अस्पताल भर्ना गरिएको थियो। सरकारी अस्पतालमा उपचार सहज र सुविधाजनक नभएपछि उनलाई निजी अस्पताल लगिएको थियो। अस्पतालबाट डिस्चार्ज भए पनि उनी अहिले घरमै क्वारेन्टाइनमा रहेकी छन्। चन्डीगढमा सोमबार १८ नयाँ संक्रमित बिरामी भेटिएका छन् भने मोहालीमा १९ जना भेटिएका छन्।
कुलवन्तको हिम्मतले डाक्टरसमेत छक्क
यो क्षेत्रमा कोरोना भाइरस पीडित पहिलो बिरामी १९ दिन अस्पताल बसेर निको भएर घर फर्केकी थिइन्। २३ वर्षकी युवतीसँगै ८१ वर्षकी कुलवन्त पनि मंगलबार अस्पतालवाट डिस्चार्ज भएकी छन् ।
कुलबन्तको उपचार गरेका मोहालीस्थित म्याक्स अस्पतालका डा दीपक भासीनले बीबीसीसँग कुरा गर्दै उनको सकारात्मक इच्छाशक्तिका कारण यो सम्भव भएको बताए। ८० वर्षको उमेरमा अधिक मानिसको ज्यान जोखिममा हुने समयमा उनलाई अस्पतालवाट डिस्चार्ज गर्न पाउँदा खुसी लागेको डा भासिनले बताए।
‘कुलवन्त आफंै एक स्टाफ नर्स भएका कारणले पनि उनले चिकित्सा र उपचारलाई सहज रुपमा सम्झिइन’ डा भासिनले भने, ‘उनले आफ्नो स्वास्थ्यको आफैं ख्याल राखेका कारण यो सहज भयो ।’
उनलाई सुरुमा ज्वरो आएको थियो । उनलाई अस्पतालले मलेरियाका लागि दिने खोप दिएको थियो भने रक्तचाप र मधुमेहको औषधि पनि दिएको थियो।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।