काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालको घर र कार्यालयमा छापा मारेको छ। २० हजार थान थर्मल गन भित्र्याएका अग्रवालले लुकाईछिपाइ राखेको अवस्थामा फेला पार्न सक्ने भन्दै उनको बालुवाटारस्थित घर र नक्सालको पुलिस हेडक्वार्टरको अपोजटमा रहेको लक्ष्मणबाबु भवनमा रहेको उनको कार्यालयमा छापा मारेको थियो। तर कुनै पनि थर्मल गन उपलब्ध हुन नसकेको प्रहरीले जानकारी दिएको छ।
'सूचना चाँडै चुहावट भएकाले अन्त कतै लुकाएको आशंका छ.' महानगरीय प्रहरी अपराध महाशाखा स्रोतले नेपाल लाइभसँग भन्यो, 'थप कार्यालयमा समेत छापा हान्ने तयारी छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।'
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनलाई मंगलबार नै नक्सालबाट पक्राउ गरिएको थियो।
पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको थियो।
कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको हुन्। उनले प्रयोग गर्दै आएको सो गाडीसमेत अवैधानिक भएको प्रहरी अनुसन्धानले देखाएको छ।
जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।
शंकर ग्रुपले संकटका बेला महँगोमा बेच्न अरुको सामान ल्याउने रोकेको विषयमा यसअघि नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।