काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
दिनको पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ। प्रतियोगिताको २२औँ खेलमा विराटनगर र पोखरा आमनेसामने हुनेछन्। त्यस्तै, २३औँ खेलमा कर्णाली र लुम्बिनी भिड्नेछन्। यो खेल दिउँसो ४:३० बजे सुरु हुनेछ।
बुधबारसम्म २१ खेल सम्पन्न हुँदा काठमाडौं गोर्खाज आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान आठ अंक रहेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। लुम्बिनी लायन्स सात अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज पाँच अंकसहित चौथो स्थानमा छ।
आज खेल्न लागेका चारै टोलीका लागि यी खेल महत्वपूर्ण छन्। सात अंकसहित तेस्रो स्थानमा रहेको लुम्बिनी जित निकाल्दै शीर्ष दुईमा उक्लिने लक्ष्यमा हुनेछ। विराटनगर र कर्णाली चार–चार अंकसहित प्लेअफ दौडमा छन्। पोखरा भने दुई अंकसहित तालिकाको पुछारमा छ।
एनपीएलको लिग चरणबाट शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।