‘लोकसम्मतिको यही परम्परालाई बुझी देशमा शान्ति सुरक्षा अमनचैन कामय राख्नुपर्नेमा सो कुरा वर्तमान मन्त्रिपरिषद्ले गर्न नसकी जनधनको क्षति भएकोले नेपालको संविधानबमोजिम वर्तमान मन्त्रिपरिषद्लाई विघटन गरिबक्सेका छौं। देशमा उत्पन्न भएको यस विशेष परिस्थितिको सन्दर्भमा नेपालको संविधानको धारा ८१ को उपधारा १ अनुसार आज यही घोषणाद्वारा माननीय श्री लोकेन्द्रबहादुर चन्दलाई मन्त्रिपरिषद्को गठन गर्न अह्राइबक्सेका छौं।’
०४६ चैत २४ गते बिहान ६:४५ मा तत्कालीन राजा वीरेन्द्रले आफ्नो शाही सम्बोधन मार्फत भनेका कुरा थिए, यी। अघिल्लो दिन बेलुका १०:५५ रेडियो नेपालको समाचारमा नै २४ गते बिहान ठीक ६:४५ मा शाही सम्बोधन प्रशारण हुने जानकारी दिइएको थियो। त्यसैले शाही घोषणालाई धेरैले सुने।
फागुन ७ देखि जारी आन्दोलन उत्कर्षमै पुगिसकेको थियो। त्यसैले शाही सम्बोधनले निकासको बाटो पहिल्याउला भन्ने धेरैको अपेक्षा थियो। तर त्यसो भएन। जनआन्दोलनको मुख्य भावना रहेको पञ्चायती व्यवस्थाको अन्त्य गर्ने विषयलाई राजाको सम्बोधनले छुनै सकेन। बरु, सम्बोधनले पञ्चायती व्यवस्थाकै निरन्तरताको संकेत गर्यो।
नेताहरुबीच प्रभावकारी सञ्चार सम्पर्कको अवस्था नरहेको त्यस समयमा राजाको सम्बोधनलाई कसरी बुझ्ने भन्नेमा मध्यमस्तरका कतिपय नेताहरुमा अलमल देखियो। मुख्य नेताहरुमध्ये केही भूमिगत, केही नजरबन्द र केही जेलमा थिए। उनीहरुसँग सञ्चार सम्पर्क टुटेको थियो। तर अन्यौल लामो समयसम्म रहेन। आन्दोलनरत जनता नै शाही घोषणा धोका हो भन्दै सडकमा उत्रिए। कडा नाराहरु लगाए।
आन्दोलनको नेतृत्व गरिरहेका शीर्ष नेताहरुलाई शाही घोषणाले आक्रोशित तुल्यायो। गणेशमान सिंहले प्रधानमन्त्री फेर्ने शाही घोषणालाई ‘रामेको ठाउँमा श्यामे ल्याउने’ नाटकको रुपमा अर्थ्याए। ‘देशव्यापी रुपमा उर्लिराखेको प्रजातान्त्रिक चाहनाको ठाडो उपहास गर्ने धृष्टता आजको शाही घोषणाले गरेको छ। हाँसी हाँसी छातीमा गोली थापिरहेका अविचलित भएर अनेकौं प्रकारका शारीरिक एवं मानसिक यन्त्रणालाई खपिरहेका र मुलुकभर खडा गरिएको तथाकथित जेलरुपी यन्त्रणा शिविरहरुमा छटपटिइरहेका नेपालीहरुले रामेको ठाउँमा श्यामेलाई उब्जाउने नाटक हेर्ने अपेक्षा गरेका थिएनन्’, वीर अस्पतालबाट जारी वक्तव्यमा सिंहको आक्रोश थियो, ’अझ पनि म आशाको विरुद्ध आशा गरिराखेको छु कि भगवान् पशुपति नाथले अहंकारी, हठवादी र निर्दोष जनताको रगतको खोलो बगाउनेहरुलाई सद्बुद्धि देऊन्।’ (प्रजातन्त्रतका योद्धा गणेशमान सिह/डा ईश्वरीराज लौडारी)
संयुक्त वाममोर्चाका नेताहरुले पनि राजाको घोषणालाई अस्वीकार गरे। मनमोहन अधिकारीले राष्ट्रिय सरकार, बहुदलको घोषणा र प्रजातान्त्रिक संविधान नभएसम्म आन्दोलन जारी राख्नुपर्ने बताए। संयुक्त वाममोर्चाका कार्यवाहक अध्यक्ष राधाकृष्ण मैनालीले जनताको माग र आन्दोलनको लक्ष्य पूरा भएको छैन भन्दै सम्पूर्ण देशवासीहरुलाई कुनै पनि किसिमको भ्रममा नपरी शान्तिपूर्ण जनआन्दोलनमा अझ सशक्तताका साथ सहभागी हुन आह्वान गरे। नेकपा मानन्धरका नेता नीलाम्बर आचार्यले घोषणाले जनताको भावना र वर्तमान राजनीतिक अवस्था बुझ्न नसकेको प्रष्ट भएको बताए। चौमका नेता निर्मल लामाले ‘अधिकारविहीन व्यक्ति लोकेन्द्रसँग केको वार्ता?’ भन्दै प्रश्न गरे। राष्ट्रिय जनआन्दोलनका केन्द्रीय प्रवक्ता डा बाबुराम भट्टराईले घोषणालाई धोका भन्दै पार्टी स्वतन्त्रता नभई आन्दोलन नरोकिने बताए। (साप्ताहिक विमर्श/ २०४६ चैत २५ (२४ गते प्रकाशित हुनुपर्ने पत्रिका त्यस दिन परेको बन्दको कारण भोलिपल्ट प्रकाशित भएको थियो।))
० ० ०
सपथ लिएर औपचारिक पदभार ग्रहण गर्नुअगावै नयाँ प्रधानमन्त्री चन्दले आफ्नो काम सुरु गरिसकेका थिए। वार्ताकै लागि उनको मन्त्रिपरिषद् गठन भएकाले उनले त्यसमै जोड दिए। नभन्दै वार्ताको पहल पनि ह्वात्तै बढ्यो। सम्पर्क सूत्रको परिचालन भयो। तिनै मध्येका एक थिए, देवेन्द्रराज पाण्डे। दुई हप्तादेखि भद्रगोल जेलमा रहेका पाण्डेलाई सिंहदरबार झिकाएर प्रधानमन्त्री चन्दले गणेशमान सिंहसँग सम्पर्कका लागि प्रयोग गरे। आन्दोलन सुरु हुनु अघिल्लो दिनदेखि नै प्रहरीले नजरबन्दमा रहेका सिंहलाई चैत १३ गते वीर अस्पताल ल्याइएको थियो। कार्यकर्तासँग सहज भेटघाट र सम्पर्क नभएका कारण कतिपय कार्यकर्ताले उनी बिरामी भएको हल्ला फैलाएर अस्पतालसम्म ल्याउने वातावरण तयार पारेका थिए। अस्पतालमा उनले फाट्टफुट्ट भेटघाट गर्न पाउँथे।
‘मूल्यांकन मासिक’ वर्ष १०, अंक ३ मा प्रकाशित संस्मरणमा पाण्डेले यो विषय उल्लेख गरेका छन्। पाण्डेले लेखेका छन्-
‘सोफामा बसेका लोकेन्द्रबहादुर चन्दले मलाई बस्नुस् भनेर कुरा झिके, ‘अब राजाबाट कदम चालिबक्स्यो, सब कुरा ठीक हुन्छ, मानवअधिकार आयोग पनि गठन गर्छौं, सहयोग गर्नुपर्यो’ आदि। जवाफमा मैले भने, ‘भद्रगोलमा रेडियो सुन्ने एकजनाले पनि बिहानको घोषणामा सकारात्मक कुरा देखेनन्, मैले पनि देखिनँ। यस्तो स्थितिमा सहयोगको कुरा हुँदैन, राजालाई भनेर तुरुन्त बहुदलको घोषणा गर्न लगाउनुस्, अरु नेपालीको ज्यान नजाओस्।’ लोकेन्द्रजीबाट त्यसपछि गणेशमानलाई भेटेर कुरा गरिदिन आग्रह हुन थाल्यो। मैले भने, ‘म जाबोलाई त चित्त नबुझेको कुरा गणेशमानजीले के सम्झेर मान्नु हुन्छ?’ एकछिनको गन्थनपछि सञ्चारसम्म पुर्याइदिने कुरामा जारी भई गणेशमानजीसँग भेट्न पाइने लोभमा वीर अस्पताल पुगें, प्रहरीको घेरामै। मलाई देखेर गणेशमानजीले अचम्म मान्नुभयो र सोध्नुभयो, ‘किन, कहाँबाट?’ मैले लोकेन्द्रजीको कुरा सुनाइदिएँ। अपेक्षा गरेजस्तै जवाफ आयो, ‘बहुदलको घोषणा नभइकन राजासँग पनि कुरा हुँदैन।’ कुरा त्यहाँ नै सिद्धियो। त्यसपछि अर्को एक घण्टाजति गणेशमानजीको स्वास्थ्यको बारेमा, आन्दोलनको बारेमा, जनताको बढ्दो मनोबलको बारेमा र निर्णायक घडी आइपुगेको बारेमा कुरा भयो। अनि झ्यालखानाका सबै साथीहरुलाई ‘जय नेपाल’ भनीदिन गणेशमानजीको आग्रह लिएर म निस्कें। … पुनः सिंहदरबार लगिएँ। लोकेन्द्र बहादुरजीले गणेशमानजीको जवाफ सुन्नुभयो। अरु गर्ने कुरा केही थिएन। ‘प्रक्रिया पूरा भएपछि सबै राजबन्दी छुट्ने’ कुरा सुनाएर मलाई पुनः भद्रगोल पुर्याइयो।‘
‘बहुदलको घोषणा नभइकन राजासँग पनि कुरा हुँदैन‘ भनेका सिंहले आफ्नो अडान अन्तिमसम्मै कायम राखे।
० ० ०
सडकमा प्रदर्शन जारी नै थियो। दिउँसोतिर खुलामञ्चमा केहीबेर भाषण पनि चल्यो। धेरैतिरबाट आएको जुलुस त्यहीँ थुप्रिएकाले खुलामञ्च खचाखच भरियो। तर माइकको राम्रो प्रबन्ध थिएन। ह्यान्ड माइकको आवाज सबैले सुनेनन्। मानिसहरु त्यहाँबाट बाहिरिए।
खुलामञ्चमा कार्यक्रम हुँदै गर्दा गणेशमान सिंहले वीर अस्पतालको छतबाट खुलामञ्चको बिशाल समूहलाई हात हल्लाएर शुभकामना दिएका थिए। साथमा मनमोहन अधिकारी पनि थिए। लामो समयपछि आम मान्छेले प्रत्यक्ष देख्न पाएका कारण धेरैले जिन्दावादको नारा लगाए।
खुलामञ्चको कार्यक्रम प्रभावकारी भएन। विभिन्न ठाउँबाट जुलुस आउने, जम्मा हुने र बाहिरिने भइरह्यो।
सहज सञ्चार सम्पर्क नभएकाले कुनै जुलुसले प्रभावकारी नेतृत्व पाएको थियो, कुनैले थिएन। कुनैबेला प्रहरीले प्रदर्शनकारी लखेट्थ्यो। कुनै बेला प्रदर्शनकारीले प्रहरीको घेरा तोड्थे। धेरै दिनदेखि यस्तै चलिरहेको थियो।
खुलामञ्चबाट निस्किएको एउटा समूह दरबारमार्गतिर लाग्यो। त्यो समूह निकै उन्मादी बन्दै गएको थियो। केही बेर प्रहरीसँग जुधेपछि त्यो समूहका केही व्यक्तिले दरबारमार्गमा रहेको महेन्द्रको शालिक तोडफोड गरे। त्यसैक्रममा गोली चल्यो। गोली लाग्ने व्यक्ति मरे।
काठमाडौंका अतिरिक्त देशका अन्य सहरमा पनि प्रहरीको प्रहरी उस्तै निर्मम तरिकाले गोली चलाइरहेका थिए। अन्य दिनभन्दा त्यसदिन प्रहरी हतास र क्रुर बनेका थिए। अस्पताल ओसारिएका घाइतेहरुको लस्कर हेर्दा लाग्थ्यो, सडकका प्रहरी आँखा चिम्लेरै भीडमा गोली हानीरहेका छन्।
(गणेशमान र मनमोहन वीर अस्पतालको छलबाट ओर्लने बित्तिकै) घाइतेहरुलाई ल्याउने क्रम बढ्न थाल्यो। बोकेर, कारमा, एम्बुलेन्समा, स्ट्रेचरमा करिब प्रत्येक २० सेकेन्डमा एउटाका दरले मृतक वा घाइतेहरु ल्याइन्थे। भूइँमा लहरै घाइतेहरु राखिएका थिए। खालि ठाउँ कतै बाँकी थिएन। को मृतक हो र को घाइते मात्र हो- छुट्याउनका लागि एक छेउबाट अर्को छेउसम्म पुग्नका लागि हामीले टेक्ने ठाउँ कतै खालि थिएन। (डा मदन उपाध्याय/ चैत २४ गते वीर अस्पतालभित्रको वातावरण / मूल्यांकन मासिक / वर्ष १० अंक ३)
वीर अस्पताल अगाडि गोली चलिरहँदा अस्पतालमै भेट्न पुगेकी एक पत्रकारलाई गणेशमानले भने- ‘ऊ क्रुर शासक निरोको जस्तो व्यवहार गर्दै छ। यदि उसले यस अवस्थालाई यसरी नै नियन्त्रण गर्न सक्छु भन्ने सोचेको छ भने त्यो उसको मुर्ख्याइँ मात्र हो।‘
ऊ अर्थात् राजाको मुर्ख्याइँ जारी थियो। गोली अन्धाधुन्द चल्न थालेका थिए। विदेशीहरु पनि गोली लागेर अस्पताल पुर्याइएका थिए।
अर्कोतिर, प्रहरीहरु घाइतेलाई पनि भीडबाट खोसेर चौकीमा पुर्याउँथे र गायब बनाउँथे। अस्पतालबाट पनि लासहरु आफैं लैजान्थे र आफूखुसी दाहसंस्कार गरिदिन्थे। आफन्तले अस्पतालबाट लास लैजानु पनि मुस्किलको विषय थियो। आफैंले आफ्नो आफन्तको दाहसंस्कार गर्न पाउनु पनि सन्तोष मान्नुपर्ने अवस्था थियो। चैत २४ गतेमात्रै देशभरमा १० जना आन्दोलनकारीको मृत्यु भयो। काठमाडौंमा मात्रै सात जना मारिएका थिए।
तर, क्रुर दमनको रणनीति सरकारकै निम्ति प्रत्युत्पादक बन्दै गयो। मानिसहरुमा डर हराएजस्तो भयो। सडकको मध्यभागमा ठडिएका राजाकै शालिकहरु निशानामा पर्न थाले। विशेषगरी महेन्द्रको शालिक निशानामा पर्यो। पृथ्वी नारायण र वीरेन्द्रकै फोटो समेत जलाउन थालियो।
पृथ्वीनारायण शाहको फोटो जलाउँदै प्रदर्शनकारी। फोटो- कियोको ओगुराको पुस्तक 'जनता जागेको बेला'मा संग्रहित
आन्दोलनका क्रममा अर्को रोचक घटना पनि घट्यो। साँझदेखि प्रहरी सञ्जालमा हुने गोप्य वार्तालाप एफएम सेटमा सुनिन थाल्यो। ‘सार्क सम्मेलनका बेला किनेको कमसल वाकिटकीका कारण प्रहरीको गोप्य वार्तालाप सबैले सुनेको खबर आयो। कुन ठाउँमा कस्तो स्थिति छ भनी जानकारी लिनेदेखि स्थलगत खटिएका प्रहरीलाई निर्देशन दिनेसम्म वाकिटकीबाटै हुन्थ्यो। हामीले वाकिटकीमा कुराकानी गरेको एफएम रेडियोमा प्रष्टै सुनिँदोरहेछ। बरु काठमाडौंभित्रै हामीलाई सुन्न गाह्रो थियो, त्रिशुलीका जनताले भने मजासँग एफएममा सुन्दा रहेछन्’, खरेलले लेखेका छन्।
उनका अनुसार, आन्दोलनकारीले प्रहरी वाकिटकीको कमजोरी थाहा पाएपछि बजारबाट एफएम रेडियोको बिक्री बढेको र स्टक सकिएको थियो। प्रहरी कमान्डले कुन ठाउँका निम्ति के आदेश दिन्छ भनी थाहा पाउन आन्दोलनकारी एफएम सुन्न थाले। गोपनीयता नरहँदा प्रहरीका धेरै अपरेसन असफल भए।
० ० ०
नयाँ प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले २४ गते बिहान साढे १० बजे दरबारमा सपथग्रहण गर्ने कार्यक्रम थियो। बिशाल जनप्रदर्शन र अवरुद्ध बाटोले सपथग्रहण ५ बजेलाई सारियो। सपथपछि पनि मन्त्री छान्ने काम हुँदै थियो। प्रधानमन्त्रीले राजासँग मन्त्रीहरु चयनको विषयमा केही बेर छलफल गरी सिंहदरबार फर्किए। सिंहदरबारमै तीन जना मन्त्रीहरुले सपथ लिए। नैनबहादुर स्वाँर, पशुपतिशमशेर जबरा तथा अच्युतराज रेग्मी मन्त्री भए।
साँझपख नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो। के गर्ने भन्ने अलमलका बीच सो बैठकले काठमाडौं र पाटनमा कर्फ्यु लगाउने निर्णय गर्यो। भोलिपल्ट बिहानदेखि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लाग्ने भयो।
मन्त्रिपरिषद्ले वार्ताको प्रयास अगाडि बढाउने निर्णय पास गर्यो। आन्दोलनको नेतृत्व गरिरहेका नेताहरुलाई भेट्न मन्त्रीहरुका बीचमा भागबण्डा नै लगाइयो। जस्तो कि,प्रधानमन्त्री चन्दले गणेशमान, रेग्मीले गिरिजाप्रसाद कोइराला, जबराले कृष्णप्रसाद भट्टराई र वाममोर्चाका नेताहरुसँग भेट्ने र छलफल गर्ने तय भयो।
वार्ताको प्रयास अघि बढे पनि त्यो त्यति सहज काम थिएन। कांग्रेसका नेताहरु सहजै भेटिए पनि वामपन्थी नेताहरुका विषयमा सरकार अनभिज्ञ थियो। भूमिगत रहेका उनीहरु उपत्यकाकै भित्री गल्लीमा बस्थे। तर, उनीहरुसँग पुग्ने सम्पर्क सूत्र पहिल्याउन सरकारलाई कठिन थियो। त्यस्ता सूत्रहरुलाई सरकारले पहिले नै गिरफ्तार गरेर उपत्यका बाहिरका जेलमा राखेको थियो। जस्तो कि, फागुन १४ गते ‘कालो दिवस’ मनाउने क्रममा पक्राउ परेका पद्मरत्न तुलाधर चौतारा र आन्दोलन सुरु हुनु १० दिन अगाडि नै पक्राउ परेका दमननाथ ढुंगाना धुन्चे पुर्याइएका थिए।
मन्त्रिपरिषद्को पहिलो बैठकले देशभरका जेलमा थुनिएका राजनीतिक बन्दीहरुलाई रिहा गर्ने निर्णय पनि गर्यो।
० ० ०
२५ गते बिहान लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री निवास बालुवाटारमा सरे।
अघिल्लै दिन घोषणा गरिएको कर्फ्युले जनजीवन अस्तव्यस्त भएको थियो। आन्दोलनकारी र अस्पतालका घाइते तथा बिरामीलाई त्यसले बढी असर गर्यो। मानिसमा एक किसिमको अन्यौल थियो। प्रधानमन्त्री चन्द स्वयं त्यस दिनभर भोकै बसे।
अच्युतकृष्ण खरेलले आत्मकथामा लेखेका छन्- ‘त्यो बेलासम्म अधिकांश नेपाली ‘कर्फ्यु’ भन्ने शब्दबारे अनभिज्ञ थिए। त्यस्तो स्थिति कहिल्यै आएकै थिएन। चैत २४ को जनप्रदर्शनले सरकारलाई पनि आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको आभास भयो। दरबारकै मुखमा जे-जस्तो घटना भयो, सर्वसाधारण जनताको विशाल जुलुस सहल बगेजसरी सडकमा उर्लियो, त्यसबाट आत्तिएर सरकारले कर्फ्यु घोषणा गरेको थियो।’
उनका अनुसार कर्फ्युको सूचना प्रभावकारी नभएको, त्यसको कार्यान्वयन कसरी गर्ने, कस्तो अवस्थमा छुट दिने भन्ने जानकारी नभएको तर उल्लंघन गरे गोली हान्ने मात्रै थाहा भएकाले पनि कतिपयको ज्यान गयो।
कर्फ्युको कारण काठमाडौंवासीको जीवन कठिन बनेको थियो। पसलमा भएका खानेकुरा बिहान कर्फ्यु लाग्नुभन्दा अगाडि नै झन्डैझन्डै सकिसकेको थियो। साँझ ४ देखि ६ बजे दुई घण्टा कर्फ्यु स्थगित हुने भनिएको थियो, तर पछि त्यसो गरिएन। त्रिभुवन विमानस्थलमा विदेशी पर्यटकहरु भुँइँमा झोक्राएर बसिरहेका थिए। (कियोको ओगुरा/ जनता जागेको बेला)
२५ गते दिनभर नै संवाद र सहमतिको पहल भइ नै रह्यो। प्रधानमन्त्री लगायतको समूह पञ्चायत व्यवस्थाकै परिधिमा रहेर बहुदलीय व्यवस्थालाई समेट्न खोजिरहेका थिए। उनीहरुले राजनीतिक दलसँग गरिने प्रस्तावमा सोही आशयको खेस्रा बनाएर राजाबाट सहमति पाए। उनीहरुसँग मुख्य त दुईवटा विषय थिए। पहिलो, संविधानमा रहेको ‘दल विहीन’ शब्द हटाउने। दोस्रो, दलमाथिको प्रतिबन्द फुकाउने।
यसबीच राजनीतिक बन्दीहरुलाई पनि छाड्ने क्रम चलिरहेको थियो।
० ० ०
अच्युतराज रेग्मीले सुरुमा कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटे। उनले राजालाई भेट्ने निर्णय आफू एक्लैले गर्न नसक्ने भएकाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सल्लाह गर्नुपर्ने बताए। त्यसपछि उनी भट्टराईकोमा गए। उनले गणेशमानसँग सल्लाह गर्नुपर्ने बताए। त्यसपछि उनीहरु वीर अस्पताल गए।
गणेशमानले आफ्नो कुरा दोहोर्याए- ‘राजाले बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएको घोषणा सार्वजनिक नगरेसम्म म राजालाई पनि भेट्दिनँ र सरकारसँग पनि वार्ता गर्दिनँ।‘
उता वामपन्थी नेताहरुसँग वार्ताको जिम्मेवारी पाएका पशुपति शमशेर जबराले पहिलो सम्पर्क राधाकृष्ण मैनालीसँग गरे। मैनाली पार्टीभित्र र बाहिर व्यापक पहुँच भएका र सार्वजनिक रुपमा बढी चिनिएका व्यक्ति थिए। साहना प्रधान पक्राउ परेपछि उनी संयुक्त वाममोर्चाका कार्यवाहक अध्यक्ष बनाइएका थिए। मैनालीले आफ्ना र संयुक्त वाममोर्चा अन्तर्गतका अन्य नेताहरुसँग कुरा गरे।
त्यस्तै, चौतारा जेलबाट काठमाडौं ल्याइएका पद्मरत्न तुलाधर र प्रधानमन्त्री चन्दबीच भेट भयो। उनले वामपन्थी नेतासँग पुर्याउने सन्देश दिए। तुलाधरले विभिन्न माध्यमबाट भूमिगत वामपन्थी नेताहरुसँग सम्पर्क गरे। सबैले वार्ता असफल भएको अवस्थामा पनि सुरक्षाको सुनिश्चितता खोजे। प्रधानमन्त्री चन्दले तुलाधरमार्फत मौखिक बचन दिए।
२५ गते मध्यरातसम्म पनि वार्ता र भेटघाटको पहल भइरह्यो। प्रायः सबै नेताले वार्ता प्रक्रियालाई सकारात्मक रुपमा लिए पनि गणेशमान आफ्नो अडानमा कायमै थिए। बहुदल पुनर्स्थापना भएको सार्वजनिक घोषणा गरेपछि मात्रै वार्ता गर्नुपर्ने उनको मत थियो। खासमा, उनकै कारण अन्य प्रयासले अर्थ पाइरहेको थिएन।
‘२०४६ सालको जनआन्दोलन सफल हुनुमा गणेशमान सिंहको दूरदर्शिताको ठूलो योगदान छ। किनकि आन्दोलन सुरु हुनुअघि नै गणेशमानले आन्दोलनको लक्ष्य के हुने र कुन हदसम्म आन्दोलन गर्ने भनेर सीमा तोकेका थिए’, आफ्नो आत्मकथा नलेखिएको इतिहासमा राधाकृष्ण मैनालीले लेखेका छन्।
० ० ०
२६ गते बिहानैदेखि फेरि वार्ता प्रक्रिया सुरु भयो। नेता र राजाबीच भेटवार्ता गराउन पहल भइरहेको थियो। प्रधानमन्त्री, मन्त्रीहरु तथा सम्पर्क सूत्रहरु आन्दोलनलाई टुंग्याउन सक्रिय भइरहेका थिए।
सरकार र कांग्रेसबीच वार्ता प्रक्रिया तिब्र रुपमा अघि बढिसकेको थियो। गणेशमान बाहेकका नेता राजालाई भेट्नलाई बढी उत्साहित जस्ता देखिन्थे। उनीहरु सरकारसँग सहमति नजिक पनि देखिन्थे। सरकारले अघि सारेको मस्यौदामा लगभग सहमति भइसकेको थियो। यसबारे वाममोर्चाका नेताहरु अनभिज्ञ थिए। संयुक्त वाममोर्चाकी अध्यक्ष साहना प्रधान २५ गते मात्रै जेलबाट मुक्त भएकी थिइन्।
पद्मरत्न तुलाधरको घरमा संयुक्त वाममोर्चाको बैठक पनि चलिरहेको थियो। सहाना केही ढिलो पुगिन्। बैठकमा मनमोहन अधिकारी, राधाकृष्ण मैनाली, लिलामणि पोखरेल, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य लगायत थिए। बैठक चलिरहँदा मन्त्री जबरा पनि त्यहीँ पुगे। उनले सरकारको तर्फबाट केही धारणा राखे। खासमा वाम नेताहरुले सरकारको तर्फबाट औपचारिक धारणा पहिलो पटक त्यहीँ सुन्न पाएका थिए।
बैठकमा साहना ढिलो आइपुगेकी थिइन्। त्यसअघि उनी कृष्णप्रसाद भट्टराई र गणेशमानसिंहलाई भेट्न पुगेकी थिइन्। त्यहीँ उनले थाहा पाइन्, आफूहरुसँग कुरै नगरी कांग्रेसले राजासँग अनौपचारिक सहमति गरिसकेको छ। उनी भट्टराईलाई भेट्न कुपन्डोल पुग्दा उनी एनटिभीलाई अन्तर्वार्ता दिइरहेका थिए। पछि साहनालाई भनिदिए- ‘सबै कुरा अहिले नै लिन खोज्यौं भने पछि केका निम्ति संघर्ष गर्ने?’ अनि वाममोर्चाको बैठकमा उनले कांग्रेस नेताहरु एक्लै अघि बढिरहेकोमा असन्तुष्टि व्यक्त गरिन्। र भनिन्- ‘दालमे कुछ काला है। कांग्रेसले दरबारसित कुराकानी र सम्झौता गरिसके जस्तो छ।’
साहनाको अनुमान दरबारमा भएको वार्तामा लगभग पुष्टि भयो। उनले पञ्चायती निकायहरु भंग हुनुपर्ने माग राख्दा मन्त्री अत्युतराज रेग्मीले भनेका थिए- ‘यो त अघि (नेका नेताहरुसितको वार्तामा) हाम्रो समझदारी भएको थिएन।’
तुलाधरको घरमा वाममोर्चाका नेताहरु असन्तुष्ट हुँदै प्रतिनिधिमण्डल बनाएर गणेशमानलाई भेट्न वीर अस्पताल गए। उनीहरुले आफ्नो असहमति राखे। तर, त्यहीँ रहेका कृष्णप्रसाद र गिरिजाप्रसादबाट भने राजालाई भेट्न हतारिएका थिए। गणेशमान र वामपन्थी नेताहरुले पञ्चायतका सम्पूर्ण निकायहरु भंग गरिने आधार खोजिरहेका थिए। तर कांग्रेसका दुई नेता भने राजालाई भेट्न पाइने र दलमाथिको प्रतिबन्ध खुला हुने कुरामै मखलेल थिए।
‘अहिले पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुन्छ। हामी वार्तामा जान्छौं। तपाईंहरु जेसुकै गर्नोस्’, कृष्णप्रसादले आफूलाई भनेका कुरा राधाकृष्ण मैनालीले आफ्नो आत्मकथामा लेखेका छन्।
कांग्रेसबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद दरबार जाने टुंगो लागिसकेको थियो।
वाममोर्चा दबाबमा पर्यो। उसका सामु दुई विकल्प रहे। पहिलो, कांग्रेसले दरबार जाने टुंगो गरिसकेकाले उसकै पछि लागेर दरबार जाने। दोस्रो, हुनै लागेको सहमतिले आन्दोलनको सम्पूर्ण माग पूरा गरेको छैन भन्दै आन्दोलन जारी राख्ने।
आन्दोलनका क्रममा धेरै मानिस मरिसकेको र आफ्नो मोर्चाले मात्रै आन्दोलन अघि बढाउन नसक्ने भएकाले दोस्रो विकल्प उनीहरुका निम्ति बढी कठिन थियो। त्यसैले आफ्नो माग दरबारमै उठाउने रणनीतिका अख्तियार गरे। साहना प्रधान र राधाकृष्ण मैनाली राजालाई भेट्न जाने निधो भयो।
‘संयुक्त वाममोर्चाले राजासँग भेट्ने प्रस्ताव सरकार र नेपाली कांग्रेसको दबाबमा परेर मात्रै स्वीकारेको थियो। आफूहरुलाई हुट्हुट्याइएको कुरा उनीहरुले राम्ररी बुझेका थिए। तर उनीहरुमध्ये वार्ताको दिशालाई निर्देशित गर्न सक्ने त्यस्तो धुरन्धर नेता कोही थिएनन्। संयुक्त वाममोर्चाको सबभन्दा ठूलो कमजोरी त्यही थियो’, ओगुराले लेखेकी छन्।
राति ८ बजेपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनाली तथा साहना प्रधान राजालाई भेट्न वीर अस्पतालबाट निस्किए। मन्त्रीद्वय राणा र रेग्मीको गाडीमा सुरुमा प्रधानमन्त्री निवास बालुवाटार पुगे। त्यसपछि नारायणहिटी दरबार पुगे। त्यतिञ्जेल बेलुकाको झन्डै ९ बजिसकेको थियो।
(यस श्रृंखलामा हामी जनआन्दोलन २०४६ का मुख्य सन्दर्भहरुलाई केलाउनेछौं। पहिलो भागमा हामी आन्दोलनको तयारी र आन्दोलन अवधिभरका मुख्य घटनाक्रममा केन्द्रित भएका थियौं (पढ्नुहोस्- सम्झनामा जनआन्दोलन ०४६ (श्रृंखला १) ) तेस्रो तथा अन्तिम भागमा दल र राजाबीचको सम्झौता, कम्युनिस्ट पार्टीहरुमा देखिएको असन्तुष्टि, आन्दोलनमा भारतलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ सरकार गठनसम्मको घटनालाई केलाउनेछौं।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।