काठमाडौं- नेपाल आयल निगमको निर्देशनविपरीत खाना पकाउने ग्यास सिलिण्डरको बजारीकरण र बिक्री वितरण गर्ने २ वटा उद्योगलाई कारबाही गरिएको छ।
निगमले चैत १५ गतेबाट लागू हुनेगरी देशभरका ग्यास उद्योगलाई १४ दशमलव २ केजी अर्थात् भरी ग्यास बिक्री वितरणमा रोक लगाई ७ दशमलव १ केजीमात्रै ग्यास भरिएका सिलिण्डर बजारमा पठाउन परिपत्र गरेको थियो। तर नवलपरासीको गैडाकोट ७ स्थित जानकी ग्यास उद्योग प्राली र बाराको बहुअरी ४ स्थित लियो ग्यास उद्योग प्रालीले भरी सिलिण्डर ग्यास बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए। ती दुई उद्योगलाई १५ दिनका लागि सम्पूर्ण कारोबार रोक्का गरिएको छ।
निगमले ग्यास वितरक र डिलरलाई आधा सिलिण्डर अर्थात् ७.१ केजीका सिलिण्डरमात्र राख्न पाउनेगरी परिपत्र गरेको भएपनि ती दुई उद्योगले निगमको निर्देशनविपरीत ग्यास बजार पठाएको निगमको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।