काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्ति लगायतका एजेन्डामा छलफल गर्न मंगलबार बिहान मन्त्रिपरिषद्को बैठक बस्दै छ। बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आईजिपीले अवकाश पाउन लागेकाले सरकारले दुवै संगठनमा नयाँ आईजिपी नियुक्ति गर्न लागेको हो।
मंगलबार मन्त्रीपरिषद्को बैठक बस्ने र एजेन्डाहरु तय भइनसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बताए।
अर्का एक मन्त्रीले भने मंगलबारको बैठकमा आईजिपी नियुक्ति हुने प्रबल सम्भावना रहेको बताए।
स्रोतका अनुसार दुवै संगठनमा नयाँ आईजिपी नियुक्तिका लागि गृह मन्त्रालयले गृहकार्य सुरु भइसकेको छ। सोमबारदेखि गृह मन्त्रालयमा हाजिर भएका सचिव प्रेम कुमार राईले यस विषयमा गृहकार्य अघि बढाएका हुन्। प्रधानमन्त्रीकै निर्देशनमा गृह मन्त्रालयले गृहकार्य अघि बढाएको हो।
नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरी बलका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्।
नेपाल प्रहरीमा आईजिपीको दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायत अधिकारी छन्।
सशस्त्र प्रहरीमा एआईजी शैलेन्द्र खनाल अरु भन्दा ११ महिना सिनियर भएकाले उनको सम्भावना छ।
आईजिपी बढुवामा यसपटक विगतमा जस्तो अस्वस्थ प्रतिस्पर्धा भएको छैन।
तर, आईजिपी बढुवामा सर्वाेच्च अदालतले दिएको आदेश र प्रहरी नियमावलीको प्रावधानले नियुक्ति प्रक्रियामा अन्योलता छ। सर्वाेच्च अदालतले कार्यसम्पादन मुल्याङकन नम्बरको आधारमा आईजिपी नियुक्ति गर्न सरकारलाई आदेश दिएको थियो। प्रहरी नियमावलीले भने आईजिपी नियुक्तिका लागि सरकारलाई स्वविवेकी अधिकार दिएको छ। अदालतको आदेशअनुसारको प्रक्रिया अघि बढाउँदा पनि बढुवाका सबै आकांक्षीहरु डिआईजी भएकाले एक वर्ष पनि नभएकाले उनीहरुको डिआईजी पदको कार्यसम्पान मूल्याङकन नै भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।