काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई अझ कडा बनाउँदै लैजाने निर्णय गरेको छ। यसका साथै सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला तथा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहबीचको आवागमनलाई रोक्ने निर्णयसमेत गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै सरकारले संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङ्ग जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेको हो। सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ्गमा कोभिड १९ अर्थात् कोरोना भाइरसको र्यापिड टेष्ट गर्ने भएको हो।
ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमुना परीक्षण गर्ने र शंका लागेका लाई पिसिआर प्रविधिबाट पुन परीक्षण गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता, अर्थमन्त्री तथा संञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए।
त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासंभव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
उपचारको क्रममा स्वास्थ्यकर्मीमाथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारबाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउन स्थानीय सरकारलाई भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।