एजेन्सी–विश्वका अधिकांश देश कोरोना भाइरसको चपेटामा छन्। विश्व स्वास्थ्य संगठनले अहिलेको समय दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा चुनौतीपूर्ण रहेको जनाएको छ। तर केही यस्ता देश र क्षेत्र छन्, जहाँ कोरोना भाइरस पुगेको छैन। प्रशान्त महासागरीय द्विप टुभालु र पूर्व सोभियत गणराज्य तुर्कमेनिस्तानमा कोरोना भाइरस पुग्न सकेको छैन। यी दुवै देश हालसम्म कोरोना भाइरसका एकजना पनि बिरामी नभएको देशको सूचीमा विश्व स्वास्थ्य संगठनले राखेको छ।
जोन हप्किन्स विश्वविद्यालयको ताजा तथ्यांक अनुसार कोरोना भाइरसका कारण १८० भन्दा बढी देश प्रभावित भएका छन्। विश्वभर ११ लाख संक्रमित भएका छन्। कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५८ हजार पुगेको छ। २ लाख मानिस उपचारपछि ठीक पनि भएका छन्।
विश्वको नक्सामा ४० यस्ता क्षेत्र पहिचानमा आएका छन् जहाँ अहिलेसम्म कोरोनाको प्रभाव देखिएको छैन। विश्व स्वास्थ्य संगठनले जारी गर्ने आधिकारिक सूचनामा उनीहरुको नाम समावेश भएको छैन।
यी देशमा किन संक्रमण देखिएन? यसको कारण के हो? धेरै कारणमध्ये एक यी क्षेत्रको जनसंख्या धेरै नहुनु पनि हो। यी टापु धेरै साना छन्। यहाँ अहिले मानिसको आवतजावत पनि ठप्प छ। यी ४० क्षेत्रमध्ये अधिकांश पर्यटकीय छन्। तर अहिले त्यहाँ कोही पनि आउँदैन। जसका कारण कोरोना भाइरस यहाँसम्म आइपुगेको देखिँदैन। सबै देशहरुले हवाई सेवा रोक लगाएका छन्, सीमा बन्द गरेका छन्, जसका कारण यी क्षेत्र अहिले बाहिरी विश्वसँग सम्वन्ध विच्छेदको अवस्थामा छन्।
अविश्वास उत्पन्न गराउँदै उत्तर कोरिया
तुर्कमेनिस्तानमा कोरोना भाइरस शब्द उच्चारण गर्नसमेत प्रतिबन्ध छ। त्यस्तै उत्तर कोरियाले कोरोना भाइरसका बिरामी छैनन् भनेर गरेको घोषणामा बाँकी विश्वले शंका गरेका छन्। किनकिउत्तर कोरिया यस्तो ठाउँमा छ, जसका वरिपरि पूरै कोरोना भाइरसप्रभावित देश छन्। कोरोना भाइरस सुरु भएको मुलुक चीनसँग उत्तरकोरियाको सीमा जोडिएको छ भने विशेष कूटनीतिक सम्बन्धसमेत छ । त्यस्तै सँगै रहेको दक्षिण कोरियामा पनि महामारी छ । तर प्योङ्गयाङ्गले अहिलेसम्म कोरोना भाइरस संक्रमितको नाम घोषणा गरेको छैन। यदि उत्तर कोरियामा भाइरस फैलियो भने त्यहाँको स्वास्थ्य व्यवस्थाले नधान्ने टिप्पणी हुँदै आएको छ । कुशासन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यो देश अप्ठेरो अवस्थामा रहेको छ।
यमनमा अहिले पनि युद्ध जारी छ। जसका कारण यहाँ कोरोना परीक्षण हुने सम्भावना छैन। केही अफ्रिकी देशमा कोरोना भाइरसको टेष्ट गर्ने किट नहुँदा पहिचान हुन सकेको छैन।
कोरोना भाइरस मुक्त अर्को एक क्षेत्र हो अन्टार्कटिकाको एक महाद्विप। त्यहाँ अहिलेसम्म एक जना पनि कोरोना भाइरसका संक्रमित फेला परेका छैनन्। विश्व मानचित्रमा यो बाँकी विश्वसँग छुटिएर रहेको देखिन्छ। अन्टार्टिका एकदमै कम जनसख्या भएको क्षेत्र हो । यहाँ अन्तराष्ट्रिय अनुसन्धान सेन्टर्समै सीमित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।