काठमाडौं- लकडाउनमा डेरामा बसिरहेको बेला अचानक १९ वर्षीया पूजा दंगालको स्वास्थ्यमा समस्या देखियो। कोरोनाको कहर चलिरहेको बेला उनको परिवारका सबै तर्सिए। न्यून आय भएको परिवार काभ्रेबाट आएर काठमाडौंको कागेश्वरी मनोहरामा भाडामा बसेको थियो। चार जनाको परिवारको धरथेग बाबु केदारले घर बनाउने मजदुरी गरेर धानेका थिए।
उनको स्वास्थ्य बिग्रँदै गएपछि परिवारले जसोतसो सिभिल अस्पतालसम्म पुर्यायो। अस्पतालमा परीक्षणमा कोरोनाका लक्षण देखिएनन्। फुड पोइजनिङको आशंकामा चिकित्सकले केही ओखती दिएर पठाए।
केही ढुक्क भएर परिवार डेरामा फर्कियो। तर बिहीबार अचानक अर्कै समस्या देखियो फेरी खुट्टा काम्ने। रोगको लक्षण कोरोनासँग मिल्दैनथ्यो। तर जताजतै कोरोनाको त्रास थियो।
नशासम्बन्धी समस्या भएको आशंकामा छिमेकीको सल्लाहअनुसार किशोरीलाई लिएर परिवार अन्नपूर्ण न्युरो अस्पताल माइतिघर पुग्यो। विस्तृत स्वास्थ्य परीक्षणमा उनमा नशासम्बन्धी दुर्लभ रोग गिलियन बार सिन्ड्रोम देखियो।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दंगाल परिवारको नियमित आम्दानीको स्रोत बन्द छ। किशोरीका परिवारका सदस्यका अनुसार चिकित्सकले तत्काल उपचार अगाडि बढाउनुपर्ने नत्र समस्या बढेर प्यारालाइसिस समेत हुनसक्ने बताएका छन्।
उपचार खर्च ६ लाख लाग्ने अस्पतालले बताएको परिवारले बतायो। दैनिक गुजारा चलाउनै हम्मेहम्मे भएका दंगाल परिवार लकडाउनको बेलामा ऋण खोज्न भौतारिइरहेको छ।
सहयोगी पाए बिबिएस दोस्रो वर्षमा अध्ययनरत छोरी बचाउन सकिन्थ्यो कि भनेर दंगाल परिवार मनकारीको पर्खाइमा छन्। मनकारीले किशोरीको बुबा केदार दंगालसँग ९८४८०८८२९६ मा सम्पर्क राख्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।