काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धीदर ५.३ प्रतिशत हुने संशोधित प्रक्षेपण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा यस वर्ष १.८ प्रतिशत विन्दूले आर्थिक वृद्धिदर खुम्चिने एडिबीले जनाएको हो।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशभर भएको लकडाउन र त्यसले उद्योग, सेवा तथा आपूर्ति प्रणालीमा पारेको प्रभावका कारण आर्थिक वृद्धिदर संकुचित हुने एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जनाएका छन्।
यो वर्षको अन्तिम त्रैमासमा रेमिट्यान्समा गिरावट आउने तथा त्यसले आन्तरिक मागमा पनि गिरावट ल्याउने एडिबीले जनाएको छ। नेपालको दोस्रो ठूलो बहुपक्षीय विकास साझेदार उसले यो वर्ष धानको उत्दनमा आएको गिवारटले कृषि क्षेत्रमा पनि सुस्तता देखिएको जनाएको छ।
'कोरोना भाइरसको जोखिम अझै बढ्ने हो भने २०२० का लागि प्रक्षेपित वृद्धिदरभन्दा कम हासिल हुन पनि सक्छ,' एडिबीका देशीय निर्देशक खामुदखानोभले भनेका छन्।
नेपाल म्याक्रोइकोनोमिक अपडेट सार्वजनिक गर्दै उसले यस वर्ष ६ प्रतिशतसम्मको मूल्यवृद्धि हुने अनुमान गरेको छ। गत वर्ष मूल्यवृद्धि ४.६ प्रतिशत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।