काठमाडौं- अर्थ मन्त्रालयले १४ शीर्षकका बजेट रोक्का गरिदिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि ती शीर्षकका बजेट रोक्का गर्ने निर्णय गरिएको हो।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकलाई पत्र लेख्दै सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालु खर्च रोक्का राख्न भनेका हुन्।
यसैगरी सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यरटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ती प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ती खर्च र भैपरी आउने पुँजीगत खर्चसमेत रोक्न भनिएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्रापमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले रोक्का गरिएको पत्रमा उल्लेख छ।
सरकारले आइतबार कोरोनाबाट प्रभावितहरुका लागि राहत प्याकेज ल्याएको थियो। त्यसमा श्रमिकदेखि उद्योगी/व्यवसायीसम्मलाई राहत दिने उल्लेख छ। यसैगरी स्वास्थ्य मन्त्रालयलाई पनि आवश्यकताअनुसार बजेट दिने भनिएको छ।
सरकारले आर्थिक दायित्व बढ्ने सक्ने आँकलन गर्दै यी क्षेत्रको खर्च कटौती गरिदिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।