काठमाडौं–सरकारको निर्णयअनुसार माथिल्लो तामाकोसी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको काम सुरु हुने भएको छ। दुवै आयोजनाले तत्काल थोरै जनशक्तिको प्रयोगबाट आयोजनाको काम अघि बढाउने तयारी गरेका हुन्।
४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीको काम सञ्चालन गर्न सकिने अवस्थामा रहेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए। ‘हाम्रो आयोजना नै एक किसिमको आइसोलेसनमा छ,’ श्रेष्ठले भने, ‘हामी काम अघि बढाउन सक्ने अवस्थामा छौँ।’
आयोजनाले नेपाल विद्युत प्राधिकरणमार्फत ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयलाई आफ्नो अवस्थाका बारेमा जानकारी गराइसकेको छ। त्यसैगरी आयोजनाले अघि बढाउन सक्ने कामको जानकारी पनि सरकारलाई गराइसकेको छ।
‘सरकारले गरेको निर्णयअनुसार केही काम अघि बढाउन सक्छौँ, हामीलाई आवश्यक पर्ने डिजेलसहितका केही वस्तुहरुमा सरकारले सहयोग गर्छ,’ श्रेष्ठले भने, ‘हाम्रो काम अघि बढ्नु भनेको एउटा राम्रो सन्देश पनि हो।’
दोलखामा निर्माणाधीन आयोजनास्थलमा अहिले पनि स्वदेशी र विदेशी गरी १ हजार कामदार छन्। कामदार आयोजनास्थलमै भएकाले काम अघि बढाउन अप्ठेरो नपर्ने श्रेष्ठको भनाइ छ। उनका अनुसार आयोजनास्थलमा ४ सय विदेशी कामदार पनि छन्।
मेलम्ची खानेपानी खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले आयोजनाको बाँधस्थलमा काम अघि बढाउन सकिने जानकारी दिए। पहिलेजस्तो धेरै कामदार नभए पनि अहिले सानो संख्यामा कामदार परिचालन गर्ने तयारी गरेको उनले बताए।
‘हामीले तत्काल ५०–६० जना कामदार परिचालन गर्छौँ,’ उनले भने, ‘आयोजनाको काम अघि बढाउन चाहिने बालुवा, सिमेन्ट, गिट्टीलगायतका वस्तुको उपलब्धता भएसम्म काम अघि बढाउने छौँ।’
आयोजनाको सुरुङको सफाइ र बाँधस्थल निर्माणको काम अघि बढाउने गरी तयारी गरिएको पनि खत्रीले जानकारी दिए।
बिहीबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोह्रौँ बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाइ दुई आयोजनाको काम अघि बढाउने निर्णय गरेको थियो।
बाहिरका कामदार आयोजनास्थल जान नदिने र आयोजनास्थलमै भएका कामदारलाई स्वास्थ्य जाँचको व्यवस्था गरी काम सुरु गर्ने निर्णय गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।