काठमाडौं- काठमाडौं प्रेस डटकममा आफ्नो संस्थासँग जोडिएका अधिकारीबारे प्रकाशित समाचार अनधिकृत रुपमा डिलेट गरेको स्विकार गर्दै सिरान टेक्नोलोजीले मफि मागेको छ। उसले बिहीबार विज्ञप्तीमार्फत् सिरान टेक्नोलोजीका प्राविधिकबाट समाचार डिलेट भएको स्वीकारेको छ। उसले गलत सूचना आदानप्रदानहुँदा गम्भीर त्रुटी हुन गएको भन्दै क्षमा मागेको छ।
मेडिकल सामाग्री खरिदबारे प्रकाशित समाचारमा सिरानको मुख्य संस्था एफवानसफ्टका सञ्चालकमध्ये एक असगर अलीको नाममा मुछिएछि बुधबार नै सिरानले व्यवासायिक मर्यादा उल्लंघन गर्दै सिएमएसमा अनधिकृतरुपमा प्रवेश गरेर समाचार डिलिट गरेको थियो। बुधबार यो घटना सार्वजनिकहुँदा कम्पनि मौन बसेको थियो।
बिहीबार नेपाल पत्रकार महासंघ, अनलाइन तथा दैनिकका २१ जना सम्पादक र अनलाइन पत्रकार संघ नेपालले विज्ञप्ति प्रकाशित गरी कारबाहीको माग गरेपछि मात्रै सिरानले आफ्नो गल्ती स्वीकार गरेको छ।
काठमाडौं प्रेसले समेत बिहीबार विज्ञप्तीमार्फत् एफवानसफ्टका सञ्चालकमध्येका विश्वास ढकालले फोन गरेर समाचार हटाउन भनेको र सो स्वीकार नगरेपछि प्रज्वल महर्जनले फोन गरेर समाचार हटाउनैपर्ने भनेर अनधिकृत रुपमा सिएएसमा प्रवेश गरेर समाचार डिलिट गरेको बताएको थियो।
ईसेवा अनलाइन पेमेन्ट गेटवे समेत सञ्चालन गरिरहेको एफवानसफ्टका सञ्चालकमध्येका एक असगर प्रधानमन्त्रीका आइटी सल्लाहकार हुन्। उनी मेडिकल सामान खरिद, प्रधानमन्त्रीको डिजिटल वार रुम निर्माण लगायतका ठेक्कामा जोडिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।