बुटवल– प्रदेश ५ सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी सुरु भएको छ। सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टिप्पणी गरेका छन्।
बुटवलमा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति तथा कार्यक्रमले जनतामा आसा जगाउन नसकेको बताए।
प्रदेशसभा ५ का नेपाली कांग्रेस प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले नीति तथा कार्यक्रम परम्परागत शैलीको भएको बताए।
‘नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र जस्तो छ, प्रतिपक्षको किन सुझाव मागिएन’, उनले भने। उनले खेलकुदको क्षेत्रमा नीति तथा कार्यक्रम नबोलेको भन्दै आपत्ति जनाए।
संघीय समाजवादी फोरमका प्रदेश सांसदहरु सहश्राम यादव र विजयबहादुर यादवले सरकारको नीति तथा कार्यक्रम पनि पार्टीको घोषणापत्र जस्तो भएको टिप्पणी गरे। सांसदहरुले नेपाली जनताले चाहना गरेको नयाँ नेपाल बनाउने जस्तो नीति तथा कार्यक्रम नआएको बताउँदै केन्द्र र स्थानीय तह र प्रदेशबीच समन्वयको अभाव रहेको बताए।
एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले प्रदेश सरकारको प्रयासलाई नराम्रो भन्न नमिल्ने बताए। उनले भने, ‘पहिलो अभ्यास भएकाले केही कमीकमजोरी भएको होला। तर, सुधारेर व्यापक छलफल गरेर अगाडि बढ्नुपर्छ।’
उनले कृषिमा आकर्षण बढाउनुपर्ने भन्दै कित्ताकाँट गरेर व्यवासायिक बन्न नसकिने धारणा राखे।
विश्लेषक डा. आरसी आर्चायले नीति तथा कार्यक्रमबाट जनता आशावादी हुनसक्ने ठाउँ नरहेको टिप्पणी गरे।
‘पुरानो रक्सी नयाँ बोतलमा हालिए जस्तै छ’, उनले भने, ‘५ नम्बर प्रदेशमा बैद्धिक र अर्थशास्त्री धेरै छन्, तर सरकारले सल्लाह लिन कन्जुस्याइँ ग¥यो।’
अर्का विश्लेषक तथा प्राडा बुद्धबहादुर थापाले सरकारले निश्चित तोकेर कुनै बुँदामा पनि खास योजना बनाएको नदेखेको बताए।
उनले भने, ‘पुरानै केन्द्र र स्थानीय तहले ल्याएका नीतिको मिसावट जस्तै छ।’
त्यस्तै, पूर्व सभासद तथा माओवादी केन्द्रका नेता विनोद पहाडीले ५ नम्बर प्रदेश सरकारको सुस्तताले आशा नजगाएको धारणा राखे। समृद्ध प्रदेश बनाउन सबै जुट्नुपर्नेमा उनको जोड थियो।
‘नीति तथा कार्यक्रम र अब बजेटलाई हेर्दा धेरै आस गर्ने ठाउँ छैन। जनता बलियो बन्नेगरी नीति आएको देखिएन’, उनले भने।
उनले सरकारको नीति तथा कार्यक्रमले संघीयताको विरोधमा बोल्नेलाई मसाला दिएको बताए।
२ महिनाको लागि ल्याएका नीति तथा कार्यक्रम अपुरो : सामाजिक विकास मन्त्री
कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले २ महिनाको लागि ल्याएका नीतिहरु अपुरो रहेको स्वीकार गरे।
प्रदेश ५ लाई एक वर्षभित्रमा साक्षर प्रदेश बनाउने भन्दै उनले प्रदेशलाई छुवाछुतमुक्त क्षेत्र घोषणा गर्ने बताए।
स्रोत–साधनको सीमितता तथा आवश्यक कर्मचारी नआएका कारण काम गर्न अप्ठ्यारो भएको उनको भनाइ छ।
यस्तै, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले सरकारले हतारमा काम गरे पनि नीति कार्यक्रम सक्दो राम्रो आएको दाबी गरे।
उनले अबको बजेटका लागि नीति तथा कार्यक्रमले सम्भावित आधार तयार गरेको बताए। नयाँ संरचना भएकाले तत्काललाई प्रदेशले आफ्नो स्रोतबाट खर्च जुटाउन नसक्ने भन्दै उपाध्यक्ष श्रेष्ठले राजस्वको दायरा बढाएर आन्तरिक तथा वैदेशिक सहायतामा जोड दिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।