चितवन- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए।
दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै उनले भने, 'दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।'
सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने, 'पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ। जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।'
विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनले बताए। एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे।
फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताए। 'नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो।'
डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको कोइरालाले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।