काठमाडौं- नेपालमा कोरोना भइरसको संक्रमण देखिएकी पाँचौ व्यक्ति बागलुङकी युवतीका परिवार र संगत गरेका १० जनाकै रिपोर्ट नेगेटिभ आएको छ। ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको परिवारका र उनले संगत गरेका १० जनाको नमूना परीक्षणका लागि सोमबार केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले जानकारी दिएका छन्।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवती चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन्। नेपाल आए लगत्तै उनी बागलुङ पुगेकी थिइन्। घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् उनी। युवती हाल बाग्लुङ अस्पतालमा आइसोलेसनमा छिन्।
डाक्टरसमेत रहेका उनका आफन्तले उनको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए। राष्ट्रिय जनस्वास्थ्य (केन्द्रीय) प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि उनले संगत गरेका र आफन्तको समेत नमूना संकलन गरी परीक्षण गरिएको थियो।
उनी आएको र यसअघि कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया युवतीको फ्लाइट एउटै रहेको थियो। अहिले टेकुमा उपचाररत अर्की १९ वर्षिया महिलासमेत सोही फ्लाइटबाट नेपाल आएकी थिइन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।