काठमाडौं - पत्रकारका लागि पनि विशेषा राहत प्याकेज व्यवस्था गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिले आग्रह गरेको छ। समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारहरु प्रतिकूल अवस्थामा पनि ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिरहेकाले उनीहरुका लागि पनि राहत प्याकेज जरुरी रहेको बताएका छन्।
उनले भनेका छन्, 'यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन्। उनीहरु अहिले अग्रपङ्तिमा रहेर काम गर्नुपर्ने अवस्था छ र गरिरहेका पनि छन् । तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनिहरुका सम्बन्धमा केही बोलिएको छैन।'
सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यम छुटेको हुँदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न उनले अपिल गरेका छन्। त्यसैगरी श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि पनि सरकारले आवश्यक ध्यान दिन उनको अनुरोध छ । कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठान थप गम्भीर बन्न उनले आग्रह गरेका छन्। उनीहरुको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन्।
यसैगरी संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएको उनले उल्लेख गरेका छन्। सम्बन्धित आमसञ्चार प्रतिष्ठानका व्यवस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरेका छन्।
सरकारले आमसञ्चार उद्योगलाई सरकारको प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिँदै नवीकरण र कर छुटको व्यवस्था मिलाउन जरुरी रहेको उनले बताए।
खासगरी उपत्यका बाहिर र श्रमजीवीहरुले सञ्चालन गरेका स्वरोजगार मूलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा रहेको बताउँदै उनीहरुका लागि पनि राज्यका तर्फबाट ठोस आर्थिक राहतको जरुरी रहेको बताएका छन्।
संवेदनशील अवस्थ मा कार्य क्षत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आत्म सुरक्षामा सतर्कता र सावधानी अपनाउन अपिल गर्दै विषम परिस्थितिको बेलामा सहकार्य जरुरी रहेको बताएका छन्।
उनले भनेका छन्, 'यो घडीमा आमसञ्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संवेदनशील बन्दै सत्यतथ्य, सकारात्मक र जनता आतंकित बनाउने नभइ जिम्मेवार एवं आशा जगाउने समाचार सप्रेषित गरौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।