काठमाडौं– संघीय संसद् सचिवालयमा दुई सचिव थपिने भएका छन्। सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एकएक जना सचिव नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभामा राजेन्द्र फुयाँलको नाम सिफारिस गरिएको हो।
संविधानको धारा १०६ को १ मा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख तथा अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार २ जनाको राजनीतिक सिफारिस भएको हो।
सचिवहरूले संसद बैठक सञ्चालनमा सहजीकरण गर्नेछन्। तर व्यवस्थापनको काम भने गर्न पाउने छैनन्।
योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिफारिस स्वीकृत भएको थिएन। उनै योगीलाई महराले प्रतिनिधिसभामा पुन: सिफारिस गरिएको हो।
त्यस्तै राष्ट्रियसभामा पत्रकार राजेन्द्र फुँयालको नाम सिफारिस भएको छ। फुँयाल कान्तिपुर दैनिकमा आबद्ध थिए। उनले पहिलो संविधानसभाको असफलताबारे पुस्तकसमेत लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।