काठमाडौं- फुर्सद कहिलेकाहिँ चिन्ताको विषय बनिदिँदो रहेछ। अल्छि लाग्ने गरी फुर्सदमा बस्नु पनि कठीन काम नै हो। अझ त्यस्तो फुर्सद जसमा ‘फुर्सदकै काम’ पनि निश्चित बाहेक अरु गर्न नपाउँदा त दिक्क लागिनै हाल्छ।
खेलाडी जो वर्षमा १३/१४ वटा प्रतियोगितामा व्यस्त हुन्छन् र आराम गर्ने समय पनि राम्ररी पाउँदैनन्, उनीहरुलाई यो फुर्सद कस्तो लाग्दो हो? नियमित खेल अभ्यास पनि गर्न नपाउँदा उनीहरु के गर्दा हुन्? फिट रहन र खेलमा फर्किएपछि पनि पुरानै लय भेट्टाउन केही योजना होलान्? र, अहिले सोध्नैपर्ने कुरा त ‘मनमा डर कत्तिको हुँदो हो?’
कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्ँदै जाँदा विश्व खेलकुद गतिविधि ठप्प छन्। विदेशमा त केही खेलाडी र प्रशिक्षकमा समेत कोरोना संक्रमण देखिएको छ। सबैजसो खेलाडीहरु क्वारेन्टाइनमा नै छन्। सुरक्षाका उपायहरु अपनाएर बसेका छन्।
नेपालमा पनि खेलको यो सिजन निरश बनेको छ। कति प्रतियोगिताहरु स्थगित भएका छन्, कतिका मिति सारिएको छ। मिति सारिएका प्रतियोगिता पनि हुने निश्चित देखिँदैन। सरकारले कोरोना भाइरस थप नफैलियास् भनेर गएको मंगलबारदेखि लकडाउन गरेको छ। त्यसले सम्भावित जोखिम कम गर्न सहयोग पुगिरहेको हुनुपर्छ।
लकडाउनको यो बेला समय कटाउने आआफ्नै मेलो छन्। चलचित्र हेर्ने, पुस्तक पढ्ने, घरको काम गर्ने, सामाजिक सञ्जाल घुम्ने र कतिपय त ‘लकडाउन कस्तो हुँदो रहेछ’ भनेर बाहिर नै पनि निस्किदिने। यो त केही छनोट रहनेहरुका लागि भयो। छाक जुटाउनै हम्मे हुनेहरुको कथा त ‘लकडाउनै’ छ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी रेश्मा भण्डारीले यत्तिका दिन भलिबल नछोइ बसेको यो नै पहिलो पटक हो। २०६२ सालमा कक्षा ६ मा पढ्दै गर्दा भलिबल खेल्न थालेकी उनले खेलबाहेक अरु सोचेकी छैनन्। न्यु डायमण्ड हुँदै २०६९ सालमा एपिएफ क्लबमा आएपछि त उनको वरपर भलिबल नै छ। प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताबाट राष्ट्रिय टिम डेब्यू गरेपछि त झनै अरु कुरा किन पो सोच्नु।
राष्ट्रिय खेलकी यी राष्ट्रिय खेलाडी अहिले लकडाउनका कारण कलंकी ढुँगाअड्डामा रहेको घरमै छिन्। नेपालगञ्जमा भएको छैटौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकाएर फर्किएको धेरै समय त भएको छैन तर हिजोआज महिला भलिबलमा प्रतियोगिता खेलेरै नभ्याइने समय हो। एउटा सकिने वित्तिकै अर्को सुरु भइहाल्छ। त्यसैले त घरभन्दा बढी समय बाहिर नै। आराम गर्ने समयसमेत मुस्किल।
कोरोनाको जोखिम कम गर्न गरिएको लकडाउनको निर्णय रेश्मा जायज लागेको छ। तर केही अटेरीहरु आफूलाई केही हुँदैन जस्तो गरी बाहिर डुलिहिँडेको भने उनलाई निको लागेको छैन। यसैले त भन्छिन्- ‘ यस्तो बेला केही हुँदैन भनेर सोच्नु मूर्खता हुन्छ। आफू पनि बाँच्नुहोस्, अरुलाई पनि बाँच्न दिनुहोस्।
लकडाउनबाट रेश्माको कुरा जस्ताको त्यस्तै-
नेपालगञ्जमा भएको छैटौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकाएर फर्किएपछि फागुन २३ गतेबाट नै घरमा बसिरहेको छु। बीचमा चैत २ गते एक दिन अभ्यासमा गएको थिएँ। त्यसदेखि यता त कतै निस्किएको छैन। लकडाउन भएपछि त कतै निस्कने कुरा पनि भएन। सबै जना घरमा नै छौँ।
हाम्रो टिममा अहिले सबै जनामा घाइते हुने समस्या देखिएको छ। मेरो पनि कुइनामा लागेको चोट ठीक भएको छैन। नेपालगञ्जको खेल सकाएर आएपछि अहिले अरु खेल नभएको समयमा आफ्नो फिटनेसमा ध्यान दिने योजना थियो। त्यसका लागि केही कामहरु गर्नुपर्ने थियो।
कोरोनाले विश्व भ्रमण गरिदिएपछि फिटनेसमा गर्नुपर्ने मेरो कामहरु पनि रोकियो। आफूलाई फिट राख्न दिनुपर्ने समय दिन मिलेको छैन। घरमा नै बस्नु परिरहेको छ। पहिले पनि फिटनेसका लागि राम्ररी काम गर्न नपाएकाले नै चोटहरु देखिएको हो जस्तो लाग्छ। अब कति सयम खेलविहीन भएर बस्नुपर्ने हो भन्ने थाहा छैन। अब खेलमा फर्कंदा पनि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। धेरै समय यत्तिकै घरमा बसेर खेलमा फर्कन सजिलो हुँदै हुँदैन। बिहान घरमा नै गर्न मिल्ने केही शारीरिक व्यायाम त गरिरहेको हुन्छु तर त्यतिले पुग्दैन।
कोरोना भाइरस यसरी फैलँदै गयो कि जसको मनमा पनि डर बसेको छ। यहाँ मात्र पनि होइन विश्वभर नै त्यस्तै डर छ। चीन, इटाली, अमेरिकाको समाचारहरु पढ्दा, मान्छेहरु मरेको सुन्दा नेपालमा त्यसरी फैलियो भने के होला भनेर चिन्ता लाग्छ।
हाम्रो देश सानो छ, यहाँ फैलन धेरै समय पनि लाग्दैन। स्वास्थ्यमा सुविधासम्पन्न देशमा त त्यस्तो भइरहेको छ भने यहाँ त स्वास्थ्यको अवस्था हामी सबैलाई थाहै छ। धेरै जनालाई लागिहालेमा सुरक्षित रुपमा उपचार गर्न पनि कठीन छ। डाक्टरहरुकै सुरक्षाका विषयमा पनि आइरहेका कति कुराहरु हामीले सुनेकै छौँ। अहिलेसम्म धेरै जनामा त देखिएको छैन, तर फैलिन्छ कि भन्ने डर भने छ नै।
विस्तारै सामानहरुको नै अभाव हुँदैछ। मेरो घरमा लगभग एक महिनाको लागि सामान राख्ने ममिको बानीले गर्दा अब अझै केही समयलाई त सबै कुरा पुग्छ। तरकारीहरु त सकिन लागिसक्यो, दाल र चामल भने छ। अब जे छ त्यही खाएर नै बस्ने हो। सकिएपछि त यता वरपर पसलहरु पनि छैनन्। पसलमा नै पनि त बाहिरबाट सामान ल्याउने नै हो। उनीहरुले नल्याए बेच्न मिल्ने कुरा पनि भएन। तर यो लामो समय चल्यो भने त हामीलाई मात्रै होइन सबैलाई नै गाह्रो भइहाल्छ।
अहिले घरमा सफा गर्ने काममा पनि व्यस्त भइरहेको हुन्छु। पहिले त अगाडि देखिएका लुगा पट्याएर राख्ने भन्दा अरु काम गरिँदैन थियो। अहिले भने सबै कुराहरु मिलाएर सफा बनाएर राख्ने काम गरिरहेको छु। चाहिने र नचाहिने सामानहरु पनि छुट्याएँ। अर्को त यो समयमा मैले राम्ररी गरेको काम भनेको भान्छाको काम हो। पहिले त भान्छाको काम गरिँदै गरिँदैन थियो, प्राय त समय पनि हुँदैन थियो। अहिले भने भान्छामा पनि राम्ररी काम गरिरहेको छु।
लकडाउनले गर्दा घरको काम गर्न सिकियो भनौँ न। पहिले त सधैँ खेल अभ्यासमा नै व्यस्त भइन्थ्यो। थाकेर आएपछि घरको काम गर्न मन पनि हुँदैन थियो। त्यसैमाथि कति सयम त घरबाट बाहिर नै बस्नुपर्ने हुन्छ। होटलमा बसेको बानी धेरै हुनाले घर आउँदा र केही समय हुँदा पनि घरको काम गर्न मन लाग्दैन थियो। अहिले यति दिन घरमा बस्दा घरको काम धेरै सिकिसकेँ। गरिरहेको छु। कोरोनाले मलाई भएको फाइदा जस्तो भयो यो।
भलिबल खेल्न नपाएर खेलको याद त आइहाल्छ तर यो समय मैले खेल्ने भन्दा पनि फिटनेसका लागि नै काम गर्नुपर्ने थियो। डाक्टरले नै कुइनामा लागेको चोटका कारण केही समय नखेल्न सुझाउनुभएको थियो। त्यसले यो आराम गर्ने नै समय पनि भइरहेको छ तर खाली आराम मात्र गर्ने भन्दा पनि चोटबाट बाहिरिन केही कामहरु गर्ने योजना थियो, जुन मिलेन। यो चोट अहिलेको पनि होइन, २०७४ सालकै हो। खेलको बेलामा नै सामान्य दुःखाइबाट लागेको चोट आराम गर्न नपाएर नै बल्झिरहेको हो। पछिल्लो समय त धेरै नै दुख्ने भइसकेको थियो। हातमा ब्यान्डेज लगाएर खेल्ने गरिरहेको थिएँ। तर त्यसरी लामो समय खेल्न त पक्कै पनि सकिँदैन।
वर्षमा हाम्रो खेलहरु धेरै हुने भए पनि वैशाखदेखि साउनसम्म लगभग खेल ठप्प जस्तो नै हुन्छ। त्यतिबेला खेल खेल्न नपाए पनि अभ्यास भने असाध्यै गरिरहेका हुन्छौँ। पछि मंसिरपछि त खेलहरु यति हुन्छ कि आराम गर्ने समय नै पाउँदैनौँ। एउटा प्रतियोगिता सकिएको १० दिन जस्तोमा अर्को प्रतियोगिता भइसक्छ। कहिले काहिँ त एक दुई दिनको आराम पनि पाइँदैन। अर्को कुरा त फिजिकल फिटनेसका लागि गर्नुपर्ने कामहरु भएकै हुँदैन। त्यही भएर पनि धपेडीसँगै चोट लाग्ने समस्याहरु आउँदै जान्छ। प्रतिभा माली, सरस्वती चौधरी, बिनिता बुढाथोकी, नेबिका चौधरी सबै जना घाइते नै हुनुहुन्छ।
यतिबेला सबैभन्दा धेरै याद आउने परिवारको नै हो। हाम्रो टिमको साथीहरुसँग पनि कुराकानी भइरहेको हुन्छ। काठमाडौंमा नै घर हुने साथीहरुलाई भन्दा बाहिरबाट आएर यहाँ बसेका साथीहरुलाई निकै कठीन छ। उनीहरु पनि बरु घरमा नै हुन पाएको भए केही सजिलो हुन्थ्यो भन्ने कुरा गरिरहेका हुन्छन्। जे छ त्यही खाएर बस्न घरमा सजिलो हुन्थ्यो काठमाडौंँमा कोठामा त मुस्किल भइरहेको छ भन्छन्।
म त यहाँ ममि बुबा, ठूलोबा ठूलोआमा सबै हामी घरमा छौँ। परिवारसँग नै हुँदा सहज पनि हुन्छ। बहिनी र दाइ भने विदेशमा छन्। त्यसैले याद धेरै आइरहेको छ। यस्तो अवस्थामा पनि विदेशको कामबाट छुटकारा पाएको छैनन। आफ्नो मान्छे चाहिने भनेको नै आफूलाई साह्रो गाह्रो परेको बेलामा नै त हो। बाहिर रहेका अरुहरुको पनि याद आइरहेको छ।
सरकारले अहिले गरेको लकडाउन ठीक निर्णय हो भन्ने लाग्छ। यस्तो छिटो व्यक्ति व्यक्तिमार्फत फैलने रोगलाई रोक्न योभन्दा अर्को विकल्प पनि हुँदैन। फैलिएपछि ला भन्नुभन्दा तयारी गर्नु निकै राम्रो कुरा हो। सबैजना घरभित्र बस्दा सुरक्षित रहने कुरा पनि भयो र रोगलाई फैलने माध्यम पनि नहुने भयो। जसलाई संक्रमण देखिएको छ त्यसबाट अर्कोमा सर्न पाएन भने पनि धेरै रोकथाम गर्न सकिन्छ।
तर यति सहज र बुझ्नैपर्ने कुरा पनि धेरैले नबुझेजस्तो गरिरहनुभएको छ। अहिले पनि बाहिर डुल्दै हिँडिरहनु भएको छ। समाचारमा आइरहेका कुराहरुमा पनि उहाँहरु सचेत हुनुहुन्न। सचेत नभए पनि डर त हुनुपर्ने हो। रोग लागेमा के हुन्छ भन्ने केही मसशुस नै नभएको हो कि खोइ के हो। कि त मलाई केही पनि हुँदैन भन्ने सोचेर पो हिँडिरहेको हो कि।
लकडाउन हाम्रै लागि गरेको त हो। यस्तो महामारीका रुपमा फैलिएको भाइरसको जोखिमलाई नबुझे जस्तो गर्न हुँदै हुँदैन। सरकारले भनेको कुरा मान्नुस्, नियम पालना गरेर घरमा नै सुरक्षित बस्नुस्। अत्यावश्यकबाहेक बाहिरतिर नस्किदिनुहोस्। यस्तो बेला केही हुँदैन भनेर सोच्नु मूर्खता हुन्छ। रोग लागेमा परिवार भेट्न पनि नपाइने कुरा त तपाइँहरुलाई थाहै होला। त्यसैले त आफू पनि बाँच्नुहोस्, अरुलाई पनि बाँच्न दिनुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।