काठमाडौं- ज्ञानेश्वर निबासी शिला तामाङकी १० वर्षीय छोरा अुनपले अनगिन्ती प्रश्न गरिरहन्छन्। शिला र उनका श्रीमानले छोरालाई भुलाउन कहिले ट्याब त कहिले युट्युबमा कथा लगाइदिएर भुलाइरहन्छन्। तर छोराको प्रश्न भने अझै घटेको छैन।
उनी सोधिरहेका हुन्छन् :
‘मामु अत्यास लाग्यो के गर्ने ?’
‘बाबा घरमा बस्नै मन लाग्दैन के गर्ने ?’
‘साथीहरुसँग भेट कहिले हुन्छ ?’
‘फन पार्कमा खेल्न जान पाइँदैन ?’
‘यो भाइरसको औषधि कहिले पत्ता लाग्छ ?’
‘छोरोलाई कोरोना भाइरस के हो‚ कसरी सर्छ भन्ने राम्रो जानकारी छ,’ शिला भन्छिन् ‘हामी दुवै जना घरमै बसेर होला घरीघरी अत्यास मानेको जस्तो गर्छ।’
कोरोना भाइरसको सङक्रमण फैलन नदिन सरकारले एक साता लामो ‘लकडाउन’ गरेको छ। यसको प्रभाव खेलिरहनुपर्ने उफ्रिरहनुपर्ने बालबालिकामा देखिएको छ। उनीहरु घरमै बस्नुपर्दा अत्यास मान्ने, बाहिर गएर साथीहरुसँग भेट्न खोज्ने गरिरहन्छन्।
मनोविद् रश्मिला काशुला यो बेला बालबालिकालाई सही सूचना दिनुपर्ने बताउँछिन्। ‘यो भाइरस के हो? कसरी फैलन्छ? किन फैलन्छ?’ भन्ने कुराहरुको जानकारी राम्रोसँग दिनुपर्छ,’ उनी भन्छिन्।
भागदौडको दैनिकीबाट आफ्नो सन्तानको मनोभाव बुझ्न समय नपाएका अभिभावकले यो लकडाउनको समयलाई आफ्ना सन्तानको नजिक भएर उनीहरुको मनोभाव बुझेर समेत उपयोग गर्न सक्छन्।
छोराछोरीसँग बिताउन‚ उनीहरुको इच्छा आकांक्षा बुझ्नका लागि यो समय खर्चिन सुझाउँछन् शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला।
‘धेरै जसो अभिभावकको गुनासो छोराछारीसँग समय बिताउन पाइएन, पढेनन् भन्ने छ के रे ,’ कोइराला भन्छन्, ‘अब के हुन्छ भनेर आत्तिनुभन्दा छोराछोरीको इच्छा आकंक्षा के हो, उनीहरुलाई कथा पढेर सुनाउँदा पनि भयो नि।’
पुस्तक पढ्न, फिल्म, डकुमेन्ट्री हेर्न र त्यसको छलफल गर्न उपयुक्त हुने उनको धारणा छ। ७ वर्षीय छोराको आमा समेत रहेकी मनोविद् काशुला यो समयमा छोराछोरीलाई व्यवहारिक हुन सिकाउने उपयुक्त समय भएको बताउँछिन्। ‘धेरै अभिभावकले दुःख गरेर छोराछोरी पढाइरहनुभएको छ,’ काशुला भन्छिन्, ‘यो समयमा छोराछोरीलाई उमेरअनुसार कुरा भनेर कसरी घर चलिरहेको छ भनेर बुझाउन पनि सकिन्छ।’
छोराछोरीसँग कसरी समय बिताउने?
प्राध्यापक विद्यानाथ कोइराला धेरैजसो अभिभावकले छोराछोरीको इच्छा नबुझेको बताउँछन्। ‘बालबालिका तथा किशोर किशोरीलाई अभिभावकले पढेनन् भनेर गुनासो गर्न बाहेक अधिकांश अभिभावकले उनीहरुको मनोभावाना बुझ्दैनन्,’ कोइराला भन्छन्, ‘पढेनन् भन्नुभन्दा उनीहरु कस्तो विषयमा रुचि भएका हुन् भन्ने बुझेर सोहीअनुसारको व्यवस्था मिलाउनुपर्छ।’
बच्चाहरुको रुचि कसरी पत्ता लगाउनेभन्दा पनि उनीहरुले नियमित पढाइ लेखाइ बाहेकका कुन कुरामा बढी समय दिएका छन् भनेर अलिकति नियालेर हेर्नुपर्ने लेखक सावित्री गौतमको धारणा छ। आफ्नो अनुभव सुनाउँदै दुई सन्तानकी आमा समेत रहेकी लेखक गौतम भन्छिन्‚ ‘मैले त त्यसैगरी पत्ता लगाएको हुँ‚ छोरालाई सूचना प्रविधिमा रुचि छ र छोरीलाई चित्रकलामा भन्ने कुरा मैले उनीहरुले यसमा बढी समय बिताएको देखेपछि उनीहरुसँग गफ गरेँ अनि पत्ता लगाएँ।’
प्राध्यापक राम लोहनी पनि सानदेखि छोराछारीसँग नजिक हुने हो र उनीहरुको कुरा सुन्ने हो भने उनीहरुको झुकाव कता छ बुझिने बताउँछन्। दुई सन्तानको बुबासमेत रहेका प्राध्यपक लोहनी भन्छन्, ‘मेरी सानी छोरी मोरल र रमाइला कथाका पुस्तकहरु पढ्छिन्। ठूलीलाई एड्भेन्चर, फ्यान्टासी उपन्यास मन पर्छ। नयाँ किताब भएपछि बच्चाहरु मोटिभेट हुन्छन्। पढेको कुरामा चासो राखेपछि पढ्छन् पनि। धेरै कुन विषयमा कुराकानी गर्छन् त्यहीअनुसार उनीहरूको इन्टेरेस्ट थाहा भइहाल्छ नि। किताब रअन्य रुचिका विषय किन्दिन डराउनु भने हुन्न।’
अन्वेषक प्रत्युश वन्त लकडाउनका बेला छोराछोरीसँग धेरै समय बिताउन अभिभावकलाई सुझाव दिन्छन्। ‘मेरो सानो छोरा १२ वर्षको छ। ऊ कोरोना के हो? यो बेला के गर्नुपर्छ के गर्नुहुँदैन? भन्नेमा सचेत छ,’ वन्त भन्छन्, ‘हामी दुवै जना घरमै छौं। कहिले फिल्म हेर्छ कहिले उसलाई मन परेका पुस्तकहरु पढिरहेको हुन्छ।’
प्राध्यापक राम लोहनी बच्चाहरुसँग कुरा गर्ने, उनीहरूले पढेका कुरामा छलफल गर्ने, उनीहरूलाई खुवाउने, आफू पनि खाने, सँगै बसेर टिभीका कार्यक्रमहरू हेर्ने, भाइरसबारे भएका अपडेटहरू उनीहरूले बुझेसम्म बताइदिनुपर्ने धारणा राख्छन्।
लेखक सावित्री गौतमको अनुभव
सावित्री गौतम
मेरा छोराछोरी धेरै साना छैनन। छोरो सत्र वर्षको छ र छोरी बाह्र वर्षकी। त्यसैले पनि लकडाउनको अवस्थामा उनीहरुलाई कसरी भुलाएर राख्ने भनेर धेरै मेहनत गर्न परेको छैन। हामीले एकल परिवारमा बसेर हुर्कायौं। त्यसैले पनि हो कि उनीहरु हाम्रा साथीजस्तै भएर हुर्किए। उनीहरुलाई कसरी भुलाएर राख्ने भन्ने समस्या त कहिले पनि परेन। यतिबेला त हुर्किसके‚ झन् पर्ने कुरै भएन।
छोराछोरी दुवै आफूलाई रुचि लागेको जेसुकै काम पनि आफैं गर्छन्। किताब पढ्ने टिभी हेर्ने वा चित्र बनाउने। पढ्न मन लागेको किताब किन्दिन पनि भन्छन्। मेरो छोरा त निकै सानो उमेरदेखि ठूला मान्छेका किताब‚ त्यो पनि गैरआख्यान पढ्छ। उसको प्रि-बोर्ड परीक्षा हुनेवाला थियो चैत दस गतेसम्म र त्यसको दुइ तीन हप्तामा बोर्डको परीक्षा। दुवै पछाडि सरेपछि होस्टेलमा बसेर पढिरहेको उ घर आएको छ।
उसलाई सूचना प्रविधिमा रुचि छ, यतिबेला त्यसैसँग सम्बन्धित सामाग्री पढ्ने, सुन्ने, हेर्ने‚ मलाई पनि ल्याएर देखाउने गर्छ। हामी बाबुआमासँगै मिलेर घरमा भाँडा माझ्ने, खाना/खाजा बनाउने पनि गरिरहेको छ जुन उसले सधैं गरिरहने नै काम हो।
छोरी बाह्र वर्षकी छे, उसलाई चित्रकलामा रुचि छ, लकडाउन हुने भयो भनेपछि उसले हामीसँग बजारबाट स्केच बुक र केही रंग मगाएकी थिई। धेरैजसो समय चित्र बनाएर बस्छे। कहिलेकाहीँ आफ्ना सानिमाहरुको पनि चित्र बनाउँछे आँखा मिलेन‚ यो मिलेन भन्छे र फेरि घन्टौं त्यसैमा घोत्लिन्छे।
अझ छोरीको त यो कोरोना भाइरसको हल्लापछि मात्र होइन, निकै अघिदेखि सधैं स्कुल जाँदा वा स्कुलबाट भ्रमणमा जाँदा समयमा स्यानिटाइजर लिएर जाने बानी नै थियो। हामीलाई पनि घरमा बारम्बार हात धुन लगाउँथी। ’हात नधोएको बेला मलाई नछुनुस्’ भन्थी। अरुबेला कतिसाह्रो ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) भएको केटी भनेर हामी कहिलेकाहीँ झर्को पनि मान्थ्यौँ। तर एक महिनादेखि हामीले सम्झेर बारम्बार हात धुन थालेका छौं।
यतिबेला छोरीको यही ओसिडीले नै हामीलाई सबैभन्दा काम लाग्ने कुरा बनेको छ। कोरोना भाइरससम्बन्धी समाचारले हामी डराएको जस्तो देखियौं भने हामीलाई ऊ नै गाली गर्छे, ’सावधान हुने हो र आत्तिने पनि होइन’ भन्दै। यस्तो कुरामा उ आफैं हामी सबैकी अभिभावकजस्ती छे।
उसको एउटा बानी भनेको घरमा बसेको बेला घरि हामीसँग मागेर घरि आफैँले बनाएर बारम्बार थरीथरीका खानेकुरा खाने बानी थियो। मैले यतिबेला ’फरमाइसी खानेकुरा खाने होइन है, ज्यान बाँच्न जति चाहिन्छ त्यति खाने हो, यो स्थिति जति दिन पनि लम्बिन सक्छ‚’ भनेर सिकाइरहेको छु र उसले मानिरहेकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।