राजविराज– कोरोना भाइरस भगाउने भन्दै भिड जम्मा गरेर देउता खेलाउने दुई जना धामीलाई बुधवार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन उलंघन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
हनुमाननगर कंकालनी नगरपालिका–५ स्थित दुईवटा डिहिवार थान (मन्दिर) बाट उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरिक्षक कमल लुङ्गेलीले बताए । कोरोना भाइरस भगाउने भन्दै उनीहरुले सयौं मानिस भेला गरी पुजापाठ गरिरहेको जानकारीपछि प्रहरी उक्त स्थानमा पुगेको थियो ।
धामीलाई प्रहरीले नियन्त्रणमा लिएपछि जम्मा भएका सर्वसाधारण तितरवितर भएका थिए । नियन्त्रणमा लिईएका दुवैजनालाई केहि समयपछि छोडिएको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
क्वारेन्टाईनमा ३१ जना
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार भारतीय नाकावाट नेपाल प्रवेश गरेका ३१ जनालाई सप्तरीका विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।
लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तसहित नेपाल प्रवेश गर्न दिने समितिको निर्णय अनुसार उनीहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार राजविराज स्थित साईकृष्ण मेडिकल कलेजमा १३, विष्णुपुर गाउँपालिकामा ८, छिन्नमस्ता गाउँपालिकामा ७, तिलाठी कोइलाडी गाउँपालिकामा २ र रुपनी गाउँपालिकास्थित क्वारेन्टाईनमा १ जनालाई राखिएको छ ।
उनीहरुको रगत र खकार परिक्षणका लागि पठाईएको र रिपोर्ट आएपछि थप कदम चालिने उनले जानकारी दिए । गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने क्वारेन्टाइनमा रहेका कसैलाई पनि कोरोनाको लक्षण हालसम्म नदेखिएको वताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।