लेखक एवं पत्रकार राजेन्द्र पराजुली संस्मराणात्मक कृति ‘कोटेश्वरको केटो’ लिएर पाठकमाझ आएका छन् । यो उनको आठौं कृति हो। कोटेश्वरमा जन्मेहुर्केका पराजुलीले यो पुस्तकमा कोटेश्वरले कसरी आफ्नो स्वरुप मात्रै होइन, संस्कृति पनि गुमाउँदै गयो भन्ने विषयलाई लेखनशिल्प मार्फत् पुस्तकमा चित्रण गरेका छन्। पराजुलीसँग नेपाल लाइभकर्मी प्रजु पन्तले गरेको कुराकानी :
धैरैले सेवा निवृत्त जीवनमा संस्मरण लेख्छन्। तर, तपाईंले सक्रिय जीवनमै यस्तो कृति लेख्नुभयो, किन?
मैले संस्मरण लेख्न थालेको ४० वर्ष पार गरेपछि हो भने संस्मरणको पुस्तक प्रकाशन गरेको ५५ वर्ष पूरा हुनै लाग्दा। ‘रिटायर्ड लाइफ’ कति वर्षबाट सुरु हुन्छ? कामको प्रकृतिका हिसाबले म रिटायर्ड हुन्न होला। किनकि साहित्य र पत्रकारितालाई मैले समानान्तर रुपमा लागिरहेको छु । हातखुट्टा चलुञ्जेल र मेरो मस्तिष्कले काम गरुञ्जेल म रिटायर्ड हुन्न । हातखुट्टा र मस्तिष्कले काम गर्न छाडेको दिन लेख्न पनि सकिन्न।
तपाईंले केही समयअघि एक पत्रिकामा आफू खेलेको सहर, गल्ली र चौरहरु मासिएको बारे लेख्नुभएको थियो । यो पुस्तकलाई त्यसैको विस्तृत रुप भनेर बुझ्दा हुन्छ?
सत्ताले विकासको भौतिक निर्माणलाई मात्र बुझेको देखिन्छ । के मानिसलाई खुला ठाउँ चाहिँदैन ? खुला ठाउँ राख्नु विकास होइन ? खुला ठाउँ नराख्दा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बखत मानिस कहाँ जाने ? हाम्रा बालबच्चा कहाँ खेल्ने ? ज्येष्ठ नागरिकले सुस्ताउने कहाँ ? प्रश्नहरु थुप्रै छन्।
म काठमाडौंले गुमाएका कतिपय खुल्ला स्थान, प्राकृतिक सम्पदा, पानीका मुहानलगायत सम्झेर दुःखी छु । त्यसकारण यो विषयमा लेखौं भन्ने लागिरहन्थ्यो । यो सहर कस्तो थियो, कस्ता भयो भन्न देखें । संस्मरण लेख्न उपयुत्त लाग्यो अनि लेखें।
‘कोटेश्वरको केटो’ पुस्तकको नाम कसरी जुराउनुभयो ?
यो पुस्तकमा मेरो बाल्यकाल, पत्रकारिता, मैले संगत गरेका केही व्यक्ति र समसामयिक विषयलाई स्मरण गरेको छु । यी सबैमा म नै प्रोटागोनिस्ट छु, मेरा नितान्त निजी कुरा छन्।
मैले देखेका र भोगेका कुरा छन् । म कोटेश्वरमा जन्मिएको, हुर्किएको र अहिले पनि त्यहीँ बसिरहेको एउटा मानिस भएकाले ‘कोटेश्वर’ त आउने नै भयो, त्यसमा ‘केटो’ जोडिदिँदा शीर्षक केही लयात्मक सुनिने भयो।
तपाईंले हेर्दाहेर्दै सहर धेरै कुरुप भयो है!
हो, काठमाडौं सहर संसारका मानिसका निम्ति एउटा ठूलो आकर्षण हुन सक्थ्यो । यहाँको जस्तो भूगोल, प्रकृति, सम्पदा लगायतका कुरा संसारका कुनै पनि सहरमा छैन। तर, हाम्रा शासकको योजनाहीनता, दूरदृष्टिहीनता र जिम्मेवारीबोधको अभावले यो सहर कुरुप हुन पुग्यो।
सहर भन्नु नयाँनयाँ भवनको अव्यवस्थित निर्माण, कोलाहल र फोहोरको पर्याय बन्न पुग्यो । खेद छ, काठमाडौंको महत्व नबुझ्ने शासकहरुप्रति।
शासकहरु प्रति रोष छ हो ?
व्यक्ति विषेष रोष छैन । तर, जुन तरिकाले विकास गरिदैछ त्यसमा मलाई चित्त बुझेको छैन।
यो पुस्तक लेख्दा रमाइलो लागेको क्षण?
म आफ्नो बाल्यकाल, भोगि सकिएका दुःख र हैरानी, घटना–दुर्घटनालगायत सम्झिदा रोमाञ्चित हुन्छु । पुस्तक लेख्ने क्रममा जहाँजहाँ यी कुरा आएका छन्, त्यहाँत्यहाँ मलाई बढी रमाइलो लागेको थियो।
नरमाइलो लागेको क्षण ?
पत्रकारिताभित्रका अँध्यारो पाटो खोल्नुपर्दाको अवस्था।
कोटेश्वरको त्यो कुरा जुन तपाईंले एकदमै गुमाएको महसुस गर्नुहुन्छ, त्यो अहिले छैन?
बिलकुलै छैन । काठमाडौं उपत्यकाका कतिपय ठाउँमध्य बसोबासका निम्ति कोटेश्वर एउटा उत्कृष्ट ठाउँ थियो । अब त्यो केही पनि बाँकी छैन । यहाँको अव्यवस्थित वस्ती, अुसविधा, खुल्ला ठाउँको अभावले यो पनि कुरुप भइसकेको छ।
काठ क्षेत्रको बसोबास कस्तो थियो?
काठमाडौं उपत्यका वरपरका काठका बसोबासको आफ्नै मौलिक परम्परा थिए। रहनसहन, जीवनशैली, सांस्कृतिक, सरसहयोगको विशिष्ट रीति थियो, अब त्यो केही पनि बाँकी छैन।
अहिले कोटेश्वर न पूर्ण सहर हुन सकेको छ, न त गाउँ नै । सङ्क्रमणको डिलमा उभिएको छ मेरो कोटेश्वर।
काठ क्षेत्रको बसोबास नयाँ भइसक्यो संस्कृति पनि बद्लियो की उही हो?
काठ क्षेत्रको संस्कृति अब ‘पपसंस्कृति’मा रुपान्तरित हुन थालिसकेको छ । र, यो पपसंस्कृतिमा आफूलाई होम्न कोटेश्वरबासीलाई निकै सकस परिरहेको छ।
सहरको अस्तित्व यसैगरी मासिन्छ है ?
परिचय र अस्तित्व गुमाउँदै गएका संसारका सबै सहरको पीडा यस्तै हुन्छ । न आफ्नोपन जोगिन्छ, न आयातित संस्कारमा आफूलाई पूर्ण रुपमा विसर्जन गर्न नै सक्छन् ! भिरको चिन्डो भएका छन् हाम्रा सहर, विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुर।
अब पहिलेको अवस्थामा त यो सहर फर्काउन सकिन्न तर यो भन्दा राम्रो चाहिँ कसरी बनाउन सकिन्छ भन्ने लाग्छ तपाईंलाई ?
राम्रो बन्ने त म कुनै सङ्केत नै देख्दिनँ । हाम्रा शासक, प्रशासक र स्वयम् हामी नै पनि, सहर राम्रो बनाउने चिन्तामा छैनौं। सहर राम्रो बनाउन बलियो र दृढ इच्छाशक्ति भएको शासक आवश्यक पर्छ।
मास्टर प्लान सहित काम गर्ने राजनेताको अभाव छ । सहरवासीमा यो सहर मेरो हो, यसलाई राम्रो बनाउन मैले आफ्नो तर्फबाट पनि योगदान गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । त्यो निकै कम मानिसमा मात्र रहेको देख्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।