बुटवल- कोरोना भाइरसको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एकजनाको रिपोर्ट नेगेटिभ आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालले रिर्पोट नेगेटिभ आएको बताए। ‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेका छौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आयो,’ डा. खनालले भने, ‘उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।’
कोरोनाको आशंकामा उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएसँगै रुपन्देहीवासीमा काेराेनाकाे त्रास बढेकाे थियाे।
उनी केही समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए। उच्च ज्वरो आएपछि उनी बिहीबार लुम्बिनी अस्पतालमा भर्ना भएका थिए। तर, उच्च ज्वरो कडा किसिमको निमोनियाका कारण आएको पाइएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको आशंमा आउने बिरामीका लागि २ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।