काठमाडौं। बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
शनिबार दिउँसो १:४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनी फोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। ठक्करपछि बस पल्टिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्याइएको थियो। उपचारका क्रममा खत्रीलाई दिउँसो २:१३ बजे र अर्का पुरुषलाई २:०९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये गुलरिया नगरपालिका–८ का ४० वर्षीय बस चालक हरि चौधरीको दाहिने हातमा चोट लागेको छ। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।
मधुवन नगरपालिका–९ की २६ वर्षीया ललिता चौधरी, मधुवन–५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। उनीहरूको टाउको, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, बारबर्दिया नगरपालिका–२ का ७७ वर्षीय प्रसाद थारु र गुलरिया नगरपालिका–१ का १८ वर्षीय यमलाल थारुसहित अन्य घाइतेको उपचार भइरहेको छ।
दुर्घटनामा मधुवन नगरपालिका–६ की ४४ वर्षीया रेखा कार्की, मधुवन–९ की २८ वर्षीया सृजना मगर, मधुवन–७ की ३३ वर्षीया ऋतु चौधरी र कोहलपुर नगरपालिका–३ की ३४ वर्षीया ईश्वरी न्यौपाने पनि घाइते भएका छन्।
सामान्य चोट लागेका गुलरिया–१० की १९ वर्षीया अर्धना पाठक र १५ वर्षीया अनन्य पाठक, कोहलपुर–११ की २३ वर्षीया अञ्जली घिमिरे, दाङको तुलसीपुर–१२ की २७ वर्षीया लक्ष्मी विक र चार वर्षीय अन्मोल विक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।