काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार देशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई भूभागमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ।
गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आइतबार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बादल रहनेछ।
रातिको समयमा देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाको पूर्वानुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।