काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै थापाले आइतबार जारी गरेको शुभकामना सन्देशमा यसको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको जनाएका छन् ।
उनले ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको उल्लेख गर्दै वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुने बताएका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ ।
थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् ।
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै उनले छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।