भक्तपुर — चोरी भएका धार्मिक तथा सांस्कृतिक सम्पदा मूल समुदायमा फर्काउने अभियानलाई सशक्त बनाउन नमुना फाउन्डेसनले भक्तपुरको कमलविनायकमा ‘मलाई घर फर्काऊ’ महोत्सव आयोजना गरेको छ।
सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित महोत्सवको उद्घाटन समारोहमा इजरायलका राजदूत श्मुलिक एरी बास, अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल म्युव्ली, नर्वेकी राजदूत डाग्नी म्योस, अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्क र युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटको उपस्थिति थियो।
नमुना फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीको मार्गदर्शनमा कार्यक्रम संयोजक श्रीना नेपालले महोत्सवको अवधारणा तयार गर्नुका साथै कार्यक्रम संयोजन गरेकी थिइन्। पुरीले सन् २००३ देखि सुरु गरेको सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै फाउन्डेसनले नागरिक र सम्बन्धित अधिकारीहरूलाई सम्पदा चोरी तथा अवैध कारोबारबारे सचेत गराउँदै आएको बताए।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारी पनि यस अभियानसँग जोडिएका छन्। अधिकारी अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।
युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सन् १९७० को महासन्धिले देशहरूलाई संयुक्त रूपमा काम गर्ने साझा आधार उपलब्ध गराएको बताए। “विभिन्न देशले सम्पदाको संरक्षण गर्न, अवैध व्यापार रोक्न र यस्ता वस्तुहरू उत्पत्तिस्थलमा फर्काउन सहकार्य गर्न सक्ने साझा कार्यढाँचा यही हो,” उनले भने।
उनले दाबी तथा सूचनाको छिटो पहिचान र सम्बन्धित निकायसम्म सम्प्रेषणका लागि दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नुपर्ने सुझाव दिए। सम्पदा फिर्तीको विषय मानिसहरूको पहिचान, जीवन र आस्थाको केन्द्रसँग जोडिएको उनको भनाइ थियो।
कार्यक्रम संयोजक श्रीना नेपालले पर्याप्त प्रमाण जुटाउँदा पनि आस्थाका सम्पदा घर फर्काउनु ठूलो चुनौती हुन सक्ने बताइन्।
अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले छलफलबाट यी सम्पदाको कलात्मक मूल्यभन्दा पर रहेको आध्यात्मिक महत्त्व अझ स्पष्ट भएको बताए। अस्ट्रेलियाका आदिवासी समुदायबाट लगिएका सांस्कृतिक सामग्री र मानव अवशेषसमेत विदेशका सङ्ग्रहालयमा रहेको उल्लेख गर्दै उनले यो अभियान नेपालमा मात्र सीमित नभई विश्वव्यापी रहेको धारणा राखे।
इजरायलका राजदूत श्मुलिक एरी बासले आवश्यक परे आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउँदै चोरी भएका सम्पदासम्बन्धी कुनै जानकारी प्राप्त भए आफूलाई अवगत गराउन आग्रह गरे।
अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्कले पनि अभियानलाई सम्भव भएसम्म सहयोग गर्ने इच्छा व्यक्त गरिन्। उनले सम्पदा फिर्ता ल्याएपछि त्यसको सुरक्षासम्बन्धी चुनौतीलाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
नर्वेकी राजदूत डाग्नी म्योसले यसलाई प्रशंसनीय पहल भन्दै सम्पदा अपराधबारे सम्बन्धित निकायहरूलाई पनि सचेत गराउनुपर्ने बताइन्। यस्ता कार्यक्रमले व्यक्तिमा चेतना बढाउनुका साथै अन्य सरोकारवालालाई समेत सक्रिय हुन प्रेरित गर्ने उनको धारणा थियो।
महोत्सव नोभेम्बर १४ देखि २१ सम्म नेपाल भोकेशनल एकेडेमी, कमलविनायक बसपार्क नजिक, भक्तपुरमा सञ्चालन हुनेछ।
कार्यक्रममा ढुङ्गा तथा काठमा मूर्ति कुँद्ने कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, वृत्तचित्र प्रदर्शन, सम्पदा घरफिर्तीसम्बन्धी विशेष प्रस्तुति, अन्तरक्रियात्मक गतिविधि तथा चोरी भएका सम्पदाका प्रतिकृतिको प्रदर्शनी समावेश छन्।
विशेष गरी युवा पुस्तालाई सम्पदा हराउने क्रमदेखि अनुसन्धान, फिर्ती र समुदायसँग पुनर्मिलनसम्मको यात्राबारे जानकारी गराउने उद्देश्य महोत्सवले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।