काठमाडौं- एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले मेन ब्यालेन्सबाटै सस्तो दरमा डेटा प्रयोग गर्न पाउने भएका छन्। कम्पनीको नयाँ डेटा बोनस योजनाअन्तर्गत मेन ब्यालेन्स अर्थात 'पे एज यु गो'बाट चलाउँदा लाग्ने दुई रुपैयाँ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्छ।
मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबारदेखि लागू हुनेछ। कम्पनीका अनुसार यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ। ग्राहकले मेन ब्यालेन्सबाट डेटामा खर्च गरेको आधारमा बोनस डेटा दिने कम्पनीले जनाएको छ।
ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जाँदा त्यही अनुपातको बोनस पाउने कम्पनीको दावी छ। कम्पनीका अनुसार यसरी पाउने डेटाको अवधि दुई दिनको समयावधि हुनेछ।
कम्पनीका अनुसार ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० खर्च गरेपछि, प्रत्येक थप १० डेटामा खर्च गरे वापत २०/२० एमबी बोनस डेटा तत्कालै पाउनेछन्। कम्पनीले ग्राहकले दुई रुपैयाँ मेन ब्यालेन्सबाट डेटा खर्च गरेमा तत्कालै दुई एमबी डेटा बोनस पाउने जनाएको छ।
ग्राहकले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउने कम्पनीले जनायो। कम्पनीका अनुसार मेन ब्यालेन्सको सय रुपैयाँ डेटामा खर्च गरे मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डेटा पाउनेछन्।
यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुने कम्पनीले जनायो। हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डेटामा खर्च गरेको हिसाबको आधारमा ग्राहकले बोनस पाउने कम्पनीको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।