काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र अभिभावकहरूलाई हल्लाका पछि नलाग्न आह्वान गरेका छन्।
‘कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन,’ मन्त्री पोखरेलले भने, ‘सरकारले सम्भावित परिस्थितिलाई गम्भीर ढंगले विश्लेषण गरेको छ। मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ। एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुनेछ।’
सरकारले भाइरस भित्रिन नदिने, शंकास्पद घटनाको परीक्षण गर्ने र आम जनतालाई सचेत तुल्याउने तीन बुँदे रणनीति अघि सारेको मन्त्री पोखरेलले बताए।
सरकारले कोरोना भाइरस (कोभिड–१९)को विषयलाई उपप्रधानमन्त्री संयोकत्वमा विशेष समिति र मुख्य सचिवको संयोजकत्वमा कार्यटोली गठन गरेको छ। स्वास्थ्य मन्त्रालयले गर्दै आएको निगरानीका आधारमा सरकार अघि बढ्ने मन्त्री पोखरेलले बताए। ‘हामी शैक्षिक सत्रको अन्तिम महिनामा छौं,’ कोरोना भाइरसबारे समाजलाई सचेत तुल्याउन जरुरी रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘५६ लाख विद्यार्थीलाई सचेत तुल्याएर उनीहरुको शैक्षिक भविष्य गुज्रिन नदिन सबै पक्षले सकारात्मक भूमिका हुन जरुरी छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।