काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो प्रथम वार्षिक उत्सव नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग गरी मनाएको छ। बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरेको थियो।
नेपाल राष्ट्र बैंकबाट इजाजत पाएसँगै २०७५ फाल्गुण २२ गतेदेखि आफ्नो बैंकिङ् कारोबार औपचारिक शुभारम्भ गरेको थियो। बैंकले एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेशभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।
बैंकको हालको अधिकृत पुँजी ४० अर्व रुपैयाँ छ। त्यस्तै जारी पुँजी २० अर्व रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि चुक्ता पुँजी २० अर्व पुग्नेछ।
जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई बैंकको स्थापना भएको थियो।
बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।