प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपढमा दर्जन स्वास्थ्यकर्मीको टोली
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ। प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज सोमबार त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवाली पनि अस्पताल पुगिसकेकी छिन्।
अस्पताल कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्नेछन्। उनका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा दिव्या सिंह शाह, डा सुवाश आचार्य लगायत रहेका छन्। यस्तै उक्त टोलीमा दुई जना एनेस्थेसियाका डाक्टर र ८ जना नर्स तथा स्वास्थ्यकर्मी समेत रहने छन्।
प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेको बताइएको छ।
विस्तृत समाचार :
प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी त्रिवि शिक्षण अस्पतालमा
प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि भिडियो सम्बोधन
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपाली डाक्टरले गर्ने‚ मिर्गौला दिने समिक्षा प्रधानमन्त्रीको भान्जी
मिर्गौला प्रत्यारोपण सफल होस् भनी ओलीलाई मोदीले दिए शुभकामना
सैनिक कर्मचारीको कसुरबारे नयाँ नजिर
क आपराधिक घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले हत्या र बलात्कार मात्रै नभएर अन्य अपराधमा संलग्न सैनिक कर्मचारीको मुद्दासमेत सिभिल कोर्टले हेर्ने नजिर बनेको छ।
त्यो मुद्दा थियो, वन्यजन्तुको अखेटोपहारसम्बन्धी मुद्दा। सो मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि सैनिक कर्मचारी संलग्न हत्या र बलात्कारसँगै अन्य घटना पनि अब सेनाको अदालतको मात्र क्षेत्राधिकार नहुने भएको हो। सर्वोच्चले यस्तो फैसला गत असारमै सुनाएको थियो। तर त्यसको पूर्णपाठ भने हालसालै मात्र आएको छ। फैसलाको पूर्णपाठमा यसअघि सैनिक अदालतको मात्र क्षेत्राधिकार हुने भनिएका अपराध अब सिभिल कोर्टमा पनि सरेको छ।
विस्तृत समाचार : खाग तस्करीको फैसलाले बन्यो सैनिक कर्मचारीको कसुरबारे नयाँ नजिर
कोरोना प्रभावित पाँच देशका उडान रद्द गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापानलगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ।
अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानआदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो।
विरोध हुँदाहुँदै देउवाले विस्तार गरे ७ विभाग
पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ७ विभाग विस्तार गरेका छन्। देउवाले सोमबार शुभेच्छुक संस्था समन्वय विभागमा एन.पी. साउदलाई जिम्मेवारी दिएका छन्।
नेता मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको जिम्मेवारी दिइएको छ भने वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी पाएका छन्।
वन, वातावरण तथा विपत व्यवस्थापनमा अम्बिका बस्नेत, महिला विभाग ईश्वरी न्यौपाने, राज्य प्रशासन विभाग केशवकुमार बुढाथोकी र शिक्षा विभागको जिम्मेवारी हरिप्रसाद नेपालले पाएका छन्।
गत शनिबार सभापति देउवाले १३ विभागमा नेतृत्वको टुंगो लगाएका थिए।
विस्तृत समाचार : विरोध हुँदाहुँदै देउवाले विस्तार गरे ७ विभाग
संघीय संसदमा पहिलो गैर-सरकारी विधेयक दर्ता
संघीय संसदमा पहिलो पटक गैर-सरकारी विधेयक दर्ता भएको छ। पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' सोमबार संघीय संसदमा दर्ता गराएका हुन्।
सामान्यतया सरकारले विधेयकहरु ल्याउने प्रचलन छ। तर, सांसदहरुले विधेयक ल्याउन सक्ने व्यवस्था छ। त्यस्तो विधेयकलाई गैर-सरकारी विधेयक भनिन्छ।
विस्तृत समाचार : गाँजाखेती नियमन गर्न पहिलोपटक गैरसरकारी विधेयक
सरकारले माथिल्लो अरुण जलविद्युत आयोजनासहित १८ ठूला एवम् रणनीतिक आयोजनालाई रूपान्तरणकारी आयोजना (गेम चेन्जर)का रुपमा अघि बढाउने भएको छ। राष्ट्रिय योजना आयोगको सोमबार बिहान बसेको पूर्ण बैठकले पूर्वाधार, सामाजिक र प्राविधिक क्षेत्रका ती आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बिहान बालुवाटारमा बसेको बैठकले पन्ध्रौं योजना स्वीकृत गर्दै यी आयोजनालाई उच्च प्राथमिकता दिई अघि बढाउने निर्णय गरेको हो। यसैगरी, बैठकले प्रत्येक प्रदेशबाट ५ वटा आयोजनालाई प्रदेश गौरवका आयोजनाका रूपमा पन्ध्रौँ योजनाको अनुसूचीमा समावेश गर्ने निर्णय पनि गरेको छ।
विस्तृत समाचार : १९ खर्बका १८ 'गेम चेन्जर' आयोजना तय
कोभिड-१९ कारण ३ हजारभन्दा बढीको मृत्यु
एजेन्सी- महामारीको रुप लिएको कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुगेको छ।
मृत्यु हुनेमध्ये ९० प्रतिशत चीनको हुवेई प्रान्तका रहेका छन्। तर‚ चीनबाहेकका १० देशमा पनि यसबाट संक्रमित केही बिरामीको मृत्यु भइसकेको छ।
दक्षिण कोरियामा ४ सय ७६ नयाँ किसिमका लक्षण भएका बिरामीहरू देखापरेका छन्। योसहित कोरियामा मात्रै ४ हजार २ सय १२ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ भने २६ जनाको मृत्यु भइसकेको छ।
विस्तृत समाचार : कोभिड-१९ कारण ३ हजारभन्दा बढीको मृत्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।