काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ७ विभाग विस्तार गरेका छन्। देउवाले सोमबार शुभेच्छुक संस्था समन्वय विभागमा एन.पी. साउदलाई जिम्मेवारी दिएका छन्।
नेता मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको जिम्मेवारी दिइएको छ भने वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी पाएका छन्।
वन, वातावरण तथा विपत व्यवस्थापनमा अम्बिका बस्नेत, महिला विभाग ईश्वरी न्यौपाने, राज्य प्रशासन विभाग केशवकुमार बुढाथोकी र शिक्षा विभागको जिम्मेवारी हरिप्रसाद नेपालले पाएका छन्।
गत शनिबार सभापति देउवाले १३ विभागमा नेतृत्वको टुंगो लगाएका थिए।
संस्थापन इतर पक्षको विरोध हुँदाहुँदै देउवाले थप ७ विभाग विस्तार गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले गठन गरेको विभागलाई स्वीकार नगर्ने बताइसकेको छ।
महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि सभापतिले गठन गरेको विभाग मान्य नहुने पौडेल समूहको जिकिर छ।
विधानतः महाधिवेशन भएको दुई महिना भित्र विभाग गठन भइसक्नुपर्छ।सभापति देउवाले नियमित कार्यकाल सकिएपछि विभाग गठनलाई निरन्तरता दिएका छन्।
संशोधित विधानमा २८ विभागको व्यवस्था भएपनि पुस ११ मा संस्थापन पक्षले ४७ विभाग हुने गरी केन्द्रीय समितिबाट पारित गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।